माेगाम्बाेकाे पहिरन आफनो समयकाे सबैभन्दा महंगाे

मुम्बई, ७ असार । हिन्दी फिल्म जगतमा आफ्नो अभिनयको उत्सव मनाउने अभिनेता अमरीश पुरीको निधन भएको वर्षौ भइसकेको छ ।
तर आज पनि उनको फ्यान जब उनलाई टेलिभिजनमा देख्छन्, उनको उपस्थितिको महशुस गर्छन् । अमरीश बलिउडका एक यस्ता लोकप्रिय भिलेन रहे, जसले फ्यानमाझ नकारात्मक भूमिकामा पनि प्रेम पाए । अमरीशले आफ्नो करियरमा केवल भिलेनका रुपमा मात्र आफूलाई स्थापित गरेनन् । उनले कहिले दर्शकलाई हँसाए र कहिले भावुक पनि बनाए ।

उनका ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘मिस्टर इण्डिया’, ‘मुझसे शादी करोगी’, ‘करण अर्जुन’लगायतका कैयौं सम्झनलायक फिल्म छन् । अमरीशलाई बलिउडको ‘मोगेम्बो’ पनि भनिन्छ । उनको यो भूमिका निकै लोकप्रिय बनेको थियो । फिल्म ‘मिस्टर इण्डिया’को ‘मोगेम्बो’ चरित्र उनका लागि यति शक्तिशाली बनिदियो कि उनले बोलेको संवाद ‘मोगेम्बो खुश हुवा’ आज पनि जो कोहीले सम्झन्छन् ।

सायद कमैलाई थाहा होला उनले ‘मोगेम्बो’ चरित्र निर्वाह गर्दा लगाएको पहिरनको मूल्य २५ हजार रुपैंयाँ थियो । अहिलेको समयमा यो रकम निकै कम लागे पनि त्यो समयमा यो मूल्य अधिक नै थियो । सन् ८० को समयमा फिल्म निर्माताहरु फिल्ममा बढी खर्च गर्दैन थिए । तर सन् १९८७ मा रिलिज भएको फिल्म ‘मिस्टर इण्डिया’मा ‘मोगेम्बो’को पहिरनका लागि निर्माता बोनी कपूरले त्यो समयको हिसाबले दिल खोलेर खर्च गरेका थिए । हिराेलाइ भन्दा भिलेनकाे ड्रेसअपका लागि बढी खर्च गरिएकाे थियाे ।

फिल्ममा उनको गोल्डन छडीदेखि लिएर उनको ब्ल्याक र गोल्डेन कष्ट्युमले दर्शकको ध्यान खिचेको थियो । यो पहिरनमा बोनीले २५ हजार रुपैंयाँ खर्च गरेका थिए । यो रकम त्यो समयमा निकै महंगो रकम हो । अमरीशले आफ्नो करियरको सुरुवात सन् १९५६ मा फिल्म ‘भाई भाई’बाट गरेका थिए । यसपछि उनले ‘प्रेम पुजारी’, ‘रेशमा और शेरा’, ‘हलचल’, ‘हिन्दुस्तान की कसम’, ‘सलाखें’, ‘डाकू’ जस्ता कैयौं फिल्ममा काम गरे ।