‘बगान भन्नै पर्ने कथा थियो’ : अभिनेता सरोज खनाल

काठमाडौँ- अभिनेताको रुपमा तीन दशक भन्दा लामो समय चलचित्र क्षेत्रमा बिताएका सरोज खनाल ‘बगान’ मार्फत निर्देशक बन्दैछन् । उनको डेब्यु निर्देशन रहेको चलचित्र आगामी २९ गते प्रदर्शन हुँदैछ । उनले डेब्यु निर्देशनमै सामाजिक विषयलाई ठूलो पर्दामार्फत समाजमा पुर्‍याउने कोसिस गर्दैछन् । त्यसो त उनले सोच बनाएर आफू निर्देशनमा आएका होइनन् । आफ्नै परिवारमा महसुश गरिरहेको एउटा कथालाई पुस्तकमा पाएपछि उनले त्यसलाई ठूलोपर्दामार्फत समाजसम्म ल्याउने आट गरेका हुन् । उनी यसलाई सर्जकको दायित्वसमेत बुझ्दछन् ।

‘मलाई नाटककै लागि नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ रहेको कथा कथा मधे बगानले मलाई छोयो । यसलाई मैले परिवारमै समेत महसुश गरेको थिएँ’, अभिनेता खनालले भने,’यो कथा म मार्फत नै भन्नु पर्छ भन्ने लागेर तयारी सुरू गरे र निर्देशक बने ।’ उनले आफ्नो मामाकी छोरी अर्थात् बहिनीले एकल महिलाको रुपमा भोगेको समस्या र समाजसँग गरेको संघर्षलाई नजिकबाट महसुश गरेका थिएँ ।

सम्पन्नताकै बीच पनि बहिनीको मन खुसी नभएको अभिनेता खनाल सम्झिन्छन् । उनले भने,’एकपटक परिवारको रमाइलो माहोलमा थियौँ । आफ्नै परिवारसँग समेत उनी खुलेर खुसी बाड्न सकेकी थिइनन् । उनमा रहेको दुविधा बाहिर धेरै दिदीबहिनामा हुन् सक्छ । त्यसलाई हटाउने र बुझाउने काम ठूलो पर्दामार्फत गर्दैछौँ ।’

ती बहिनीको विवाह भएपछि बल्ल नयाँ जीवन पाएको अभिनेता खनालले सम्झिए । ‘अहिले उनलाई छुटै पाउँछु । उनले बल्ल जीवन बचेकी छिन्’, उनले भने ।  आफूलाई कथा वाचक भन्न रुचाउने खनालले चलचित्रमा आफू भन्दा वरिष्ठ कलाकार नै बढी राखेर चलचित्रमा काम गरेकाछन् । किनकि सिनियर कलाकार अभिनयमा पोख्त हुनुका साथै चरित्र अनुसार उपयुक्त थिए ।

चलचित्रमा अभिनेत्री करिश्मा मानन्धर र नव अभिनेत्री प्रमिला कार्कीले गरेको अभिनयको निर्देशक र अनुभवी कलाकारको हैसियतले उनले तारिफ गरे । ‘यसमा करिश्माको सुन्दरता अभिनयमार्फत व्यक्त भएको छ । उनी सुन्दर छिन्, यो भूमिकाले उनमा झनै सुन्दरता थपेको जस्तो लाग्छ’, अभिनेता खनालले भने,’प्रमिला नयाँ थिइन् । छायांकन अगाडी उनले कस्तो गर्लिन् भन्ने थियो तर उनले मसँगै सम्पूर्ण टिमलाई चकित बनाउने काम गरेकी छिन् ।’

एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई चलचित्रमा प्रस्तुत गरेका अभिनेता खनालले आउँदा दिनमा समेत सामाजिक विषयवस्तुलाई ठूलो पर्दामा ल्याउने योजना सुनाए । यद्यपि कलाकारितालाई पनि सँगै अगाडी बढाउने उनले बताए । चलचित्र ‘बगान’ मा आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा  गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेकाछन् । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।