मनकामना इन्जिनियरिङ हाइड्रोपावरले १९ असारदेखि आईपीओ बिक्री गर्ने

काठमाडौ,  ११  असार । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले १९ असारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गर्न लागेको हो ।

जसअनुसार यस कम्पनीले १ सयअंकित मूल्यमा ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्नेछ । उक्त आईपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यस्तै, बिगु गाउँपालिका वडा नं. ४ र कालिन्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन हुनेछ । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले २ लाख कित्ता साधारण सेयर वैदेशिक रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

स्थानीय बसिन्दाले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा साउन २ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

रेटिङ एजेन्सी केयर नेपालले यो आईपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।

स्थानीय बासिन्दाले मनकामना इन्जिनियरिङको रजिष्ट्रार्ड कार्यालय अनामनगर, प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, गौरीशंकर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।