समाजमा तेस्रो लिंगीहरुले भोग्नु परेको पिडा र हेयको दृष्टीमाथि तयार भिडियो परिचयको मेल भर्सन हेर्नुहोस्

काठमाडौँ । नेपाली गीत संगीत र साहित्यको क्षेत्रमा नमिता दवाडी परिचित नाम हो । लामो समयदेखि न्युजल्याण्डमा बस्दै आएकी गीतकार नमिता दवाडीको ले परिचय बोलको गीतको भिडियोको फिमेल भर्सनको सफलतासँगै मेल भर्सन पनि बजारमा ल्याएकी छिन् । श्रेया अगस्तीको स्वर रहेको सार्वजनिक गीतमा नमिता दवाडीको शब्द शृजना, ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ ।

भिडियोले पुरुष शरीर भित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगी (एलजिबिटीक्यूए) हरुको अस्तित्वको खोज र जीवन संघर्षको कथालाई देखाउन खोजेको गीतकार दवाडी बताउँछिन् । समाजमा तेस्रो लिंगीहरुले भोग्नु परेको पिडा र हेयको दृष्टीमाथिको प्रश्न सार्वजनिक गीतको भिडियोमा उठाइएको छ । गीतले तेस्रो लिंगीहरुले पनि समाजमा ससम्मान, समान अधिकार पाएर बाँच्न पाउनु पर्छ भन्ने आशय व्यक्त गरेको गीतकार दवाडी बताउँछिन् ।

भिडियोमा कमल सिंह मुख्य भूमिकामा रहेका छन् भने नुर दाहाल, सुवास दाहाल र रानु निरौलाको अभिनय देख्न सकिन्छ । त्यस्तै लिपिका दाहाल, रविन ओली, नम्रता शर्मा, रमेश पराजुलीको सह–भूमिका छ। भिडियोमा बालकलाकारका रुपमा आरभ प्रधान, सुगम भट्टराई, सुज्यना खड्का, सायरा खड्का, रुशा श्रेष्ठ र मानव सापकोटाको पनि अभिनय रहेको छ।

भक्तपुरका विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोको राम्रो प्रतिक्रिया आइरहेको भिडियोका निर्माता सुवास दाहालले जानकारी दिए । अगस्तीको निर्देशनमा तयार भएको भिडिायोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने भिडियोको सम्पादन र कलरिगं शिलन लम्सालले गरेका हुन् । भिडियो काठमाडौं उपत्यकाका रमणीय स्थानहरुमा छायांकन गरिएको निर्माता दाहाल बताउँछन् । गीतकार दवाडीले यसअघि ‘परिचय बोलको गीतको फिमेल भर्सन बजारमा ल्याएकी थिइन् । जसले राम्रो चर्चा कमाएको थियो ।