अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौ,  १३ असार । अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा आवेदन दिने बुधबार अन्तिम दिन हो । यसमा मागभन्दा बढी आवेदन परिसकेको छ  । सीडीएसका अनुसार १२ असार साँझ ५ः०५ बजेसम्ममा यसमा ९ लाख ६ हजार १०८ जनाले ९९ लाख ४५ हजार ६६० कित्ताका लागि आवेदन परिसकेको छ । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १८.४३ गुणा बढी आवेदन हो ।

यस हाइड्रोपावरले १० असारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन हुनेछ । यस मध्ये १० प्रतिशत अर्थात ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ ।

त्यस्तै, ५ प्रतिशत अर्थात ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २  प्रतिशत अर्थात् १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ । बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ कात्तिक ४ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० कात्तिक ४ गतेसम्म बाहल रहनेछ ।