मुग्लिन सडकमा अलपत्र परेका यात्रुलाई खाजा र पानी वितरण

मुग्लिन-पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई उद्योग वाणिज्य सङ्घ मुग्लिन र होटल सङ्घ मुग्लिनले खाजा र पानी वितरण गरेका छन् । ती संस्थाले चाउचाउ, चिउरा र मिनरल वाटर निःशुल्क वितरण गरेका हुन् । ती दुई संस्थाको नेतृत्वमा मुग्लिनका स्थानीय व्यवसायीबाट सहयोग जुटाई यात्रुहरूलाई खाजा र पानी वितरण गरिएको उद्योग वाणिज्य सङ्घ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले बताउनुभयो । केही यात्रुहरूले सो अभियानमा साथ दिएको उहाँले बताउनुभयो ।

यसैबीच मुग्लिनका होटलहरूमा अनुगमन गरिएको छ । यात्रुहरूबाट होटलले खाना तथा खाजाको मूल्य महँगो लिएको भन्ने गुनासो आएपछि अनुगमन गरिएको होटल सङ्घ मुग्लिनका अध्यक्ष राम श्रेष्ठले बताउनुभयो । मुग्लिनका सबै होटलमा मूल्य सूची रहेकाले यात्रुहरू ठगिन नपर्ने सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो । अनुगमनका क्रममा कतिपय होटलले मूल्य सूचीभन्दा कम मूल्यमा खाना खुवाएको समेत भेटिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही यात्रुबाट खाना महँगो भयो भन्ने गुनासो आएपछि हामीले अनुगमन गरेका छौँ, सबै होटलमा मूल्य सूची राखिएको छ, कतिपय होटलले मूल्य सूचीभन्दा कममा खाना खुवाएका छन्, हरेक होटलमा मूल्य सूची भएकाले यात्रुहरू ठगिन पर्दैन ।” कुनै होटलले मूल्य सूचीभन्दा बढी मूल्य लिए होटल सङ्घ मुग्लिनमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो । मुग्लिनमा होटल सङ्घमा दर्ता भएका मात्र ४७ वटा होटल छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा गए राति साढे ११ बजे पहिरो खसी सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् । गत बिहीबारदेखि सोही स्थानमा पटक–पटक पहिरो खस्दा यात्रुले सास्ती बेहोर्दै आएका छन् । यो सडक हुँदै दैनिक औसत १० हजार सवारी साधन आउजाउ गर्ने गर्छन् ।