चिनियाँ अर्बपती ज्याक मा सुटुक्क पुगे पाकिस्तान

लाहोर, १८ असार । चिनियाँ अर्बपति तथा अलिबाबा समूहका सह संस्थापक ज्याक माले आफ्नो अप्रत्याशित पाकिस्तान भ्रमणले सबैलाई चकित पारिदिएका छन् । 
उनी चुपचाप पाकिस्तान पुगेका थिए र दूतावासलाई पनि कुनै जानकारी दिएनन् । मिडिया रिपोर्टका अनुसार बोर्ड अफ इन्भेस्टमेन्ट (बीओआई) का पूर्व अध्यक्ष मुहम्मद अजफर अहसानले भ्रमणको पुष्टि गर्दै ज्याक मा २९ जुनमा लाहोर पुगे र २३ घण्टा बसेको बताए । 

 

ज्याक माले भर्खरै आफ्नो काठमाडौं, नेपाल भ्रमण पूरा गरे । सो क्रममा उनले ठमेल, भक्तपुर दरबार स्क्वायर, कालीमाटी तरकारी बजारलगायतका ठाउँको भ्रमण गरेका थिए । 

 

पूर्व राज्यमन्त्री र लगानी बोर्ड (बीओआई) का अध्यक्ष मुहम्मद अजफर अहसानले ट्वीटमा ज्याक मा व्यक्तिगत भ्रमणमा लाहोरमा भएको खुलासा गर्दै थपे कि चिनियाँ दूतावासलाई पनि उनको पाकिस्तान भ्रमण र घटनाहरूको विवरणबारे जानकारी छैन। उनीसँगै एक अमेरिकी र पाँच चिनियाँ नागरिकसहित सात जनाको समूह पाकिस्तान आइपुगेका हुन् ।