निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन अर्थमन्त्रीसमक्ष आग्रह

काठमाडौँ-नेपाल उद्योग परिसङ्घले निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन अर्थमन्त्रीसमक्ष आग्रह गरेको छ ।परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले  अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर अर्थतन्त्रलाई चलायमान बनाउने र घटेको निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो ।

परिसङ्घको टोलीले छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न बजेटको प्रभावकारी कार्यान्वयन एवं खुकुलो मौद्रिक नीति ल्याउन सुझावसमेत दिएको छ ।

अध्यक्ष अग्रवालले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न चोरी पैठारी नियन्त्रणका लागि कठोर बन्न सरकारलाई आग्रहसमेत गर्नुभयो । परिसङ्घले उद्योगी व्यवसायीलाई उधारो उठाउन सहजीकरण गर्न उधारो उठाउने ऐन र अग्रिम जमानत कानून ल्याउनुपर्ने बताएको छ ।

भेटमा अर्थमन्त्री डा महतले निजी क्षेत्रको मनोबल उच्च राख्ने वातावरण सरकारले निर्माण गर्ने बताउनुभयो । उहाँले परिसङ्घले उठाएका विषयहरूलाई गम्भीतापूर्वक लिएको उल्लेख गर्नुभयो । अर्थमन्त्री डा महतले परिसङ्घको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।