केपी ओलीको निर्देशन- बाढीपहिरो पीडितलाई उद्धार गर्न तयारी अवस्थामा रहनू

काठमाडौं, २० असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो पीडितको उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले देशका विभिन्न भागमा बाढीपहिरो गइरहेकाले पीडितको उद्धार र राहतका लागि तयारी अवस्थामा रहन आफ्नो पार्टीको विपत् व्यवस्थापन विभागलाई निर्देशन दिएका हुन् ।

‘भारी वर्षाका कारण देशका बिभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरु आइरहेका छन् । पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुने र यात्रुहरु प्रभावित हुने क्रम बढ्दै छ । त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरुमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु । हाम्रो पार्टीको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्दार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु । बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरुलाई यथोचित परिचालन गरोस् भन्ने ध्यानाकर्षण गराउँछु,’ उनले भनेका छन् ।