महाकाली सिँचाइ तेस्रो चरण : मूल नहर परीक्षणका लागि छाडियो पानी

बेदकोट-निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहर परीक्षणका लागि पानी छाडिएको छ । आज टनकपुर ब्यारेजबाट महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर परीक्षणका लागि पानी छाडिएको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिकाको ब्रह्मदेवबाट शुक्लाफाँटा नगरपालिकाको फुलेली घरकटुवा खोलासम्म पानी छाडेर मूल नहर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । “ब्रह्मदेवबाट २८ किलोमिटर फुलेलीसम्मको मूल नहरमा पानी छाडिएको छ, एक सातासम्म पानी छाडेर मूल नहर परीक्षण गरिनेछ”, निर्देशक बमले भन्नुभयो ।

महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत ब्रह्मदेवबाट फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको उक्त मूल नहरमा पानी छाडेर परीक्षण गर्ने कार्य चलिरहेकाले यस अवधिमा नहर छेउछाउमा आफ्ना बालबच्चा र चौपाया नछाड्न आयोजनाले आग्रह गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवबाट बगुनखोलासम्म १९ किलोमिटर मूल नहरमा गत वर्ष परीक्षण गरिएको थियो ।

नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपाली भूमिसम्म भारतले निर्माण गर्नुपर्ने एक हजार दुई सय मिटर नहर निर्माणको काम सम्पन्न भइसकेको छ । उहाँका अनुसार अहिले मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माणको काम भइरहेको छ । “बाइस शाखा नहरमध्ये दुईको निर्माणको काम सकिएको छ”, उहाँले भन्नुभयो, “अन्यको काम भइरहेको छ ।”

आयोजनाअन्तर्गत मूल नहर २८ किलोमिटर शुक्लाफाँटाको फुलेलीबाट कैलालीको गोदावरीखोला ४८ किलोमिटरसम्म निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । आगामी आव २०८०÷८१ का लागि आयोजनामा रु एक अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ । “चालु आवको तुलनामा आगामी आवका लागि बजेट कम छुट्याइएको छ”, निर्देशक बमले भन्नुभयो, “चालु आवमा रु एक अर्ब २३ करोड बजेट थियो ।”

महाकाली सन्धि भएको १० वर्षपछि आव २०६३÷६४ देखि निर्माण थालिएको नहरको कामले केही वर्षयता गति लिएको छ । विसं २०५२ माघ २९ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८ दशमलव ३५ घनमिटर प्रतिसेकेन्ड तथा सुक्खायाममा आठ दशमलव ५० घनमिटर प्रतिसेकेन्ड पानी पाउनुपर्छ ।
यो पानी उपयोग गर्नका लागि नेपालले एक सय ५२ किलोमिटर लामो मूल नहर, एक सय ७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नुपर्छ । राष्ट्रिय गौरवको आयोजनामा समेटिएपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणले गति लिएको हो । बाइस शाखा नहर निर्माण भए पाँच हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउन सकिने छ ।