सबै दलले सरकारलाई विश्वासको मत दिनुहुन्छ : मुख्यमन्त्री थापा

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पदको सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आगामी एक महिनाभित्र प्रदेशसभामा रहेका सबै राजनीतिक दलको सहमतिमा सरकारले विश्वासको मत प्राप्त गर्ने बताउनुभयो ।

नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धन दलको सहमतिमा बनेको यो सरकारले जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “संविधानको मूल्य र मान्यताअनुसार यो सरकार गठन भएको छ, जनताको चाहनाअनुसार विकास र समृद्धिका कार्य अगाडि बढ्छन् ।”

मुख्यमन्त्री थापाले आज पहिलो चरणमा दुईजना मन्त्री नियुक्त भए पनि केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने धारणा राख्नुभयो । उहाँले गठबन्धन दलको सहमतिमा मन्त्रिमण्डल विस्तार गर्नुका साथै मन्त्रालयको सङ्ख्या वृद्धि नगर्ने बताउनुभयो । मुख्यमन्त्री थापाले प्रदेशलाई समृद्धि बनाउन सबैको सहयोग र सहकार्यका साथ वर्तमान सरकारले कार्य गर्ने स्पष्ट पार्नुभयो ।