राप्रपाको सुदूरपश्चिम प्रदेश सहसंयोजकमा ज्ञानेन्द्र शाही

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियुक्त गर्नुभएको छ । अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो । शाही पार्टीका प्रमुख सचेतकको जिम्मेवारीमा समेत हुनुहुन्छ ।

त्यसैगरी अध्यक्ष लिङ्देनले कर्णाली प्रदेशको सहसंयोजकमा पार्टीका सहमहामन्त्री धनबहादुर बुढालाई नियुक्त गर्नुभएको छ । पार्टीका गतिविधिलाई जनस्तरमा पुर्याएर सङ्गठनलाई सुदृढीकरण गर्न शाही र बुढालाई नयाँ जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ ।

यसअघि पार्टीले सातवटै प्रदेशमा पार्टीका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।