वीरगञ्ज महानगर क्षेत्रभित्र जथाभावी फोहर फ्याक्नेबाट चौध लाख ९५ हजार राजस्व सङ्कलन

वीरगञ्ज-वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रभित्र जथाभावी फोहर फ्याक्नेसँग जरिवानाबापत राजस्व सङ्कलन गर्ने अभियान थालेको छ । जथाभावी फोहर फ्याक्ने र सडक दुर्गन्धित गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले महानगरले विसं २०७९ पुस १७ देखि जथाभावी फोहर फ्याक्नेबाट जरिवाना तिराउन थालेको हो । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी पाँच सय ७० जनाबाट जरिवानाबापत रू चौध लाख ९५ हजार दुई सय पाँच राजस्व सङ्कलन भएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिनुभयो ।

स्वच्छ, सफा र सुन्दर महानगर बनाउने उद्देश्यले महानगरले गत पुसदेखि जथाभावी फोहर फ्याक्नेसँग जरिवानाबापत राजस्व सङ्कलन अभियान थालेयता नियमित राजस्व सङ्कलन गर्दै आएको उहाँले बताउनुभयो ।

“घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याक्ने स्थानीयको प्रवृति छ”, प्रमुख मियाँले भन्नुभयो, “त्यस्तो प्रवृतिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।” यस अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दासमेत चलाउने योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख मियाँका अनुसार महानगरले निजी संस्थासँग सहकार्य गरी ३२ वटै वडाभित्र तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिकाले वीरगञ्जस्थित पृथी तारा एमके इनरनेशनल जेभिसँग विसं २०७६ जेठ २ मा सम्झौता गरी नियमित सरसफाई गर्दै आएको उहाँको भनाइ थियो ।

“महानगर प्रमुखको योजना अनुरुप सफा र सुन्दर वीरगञ्ज नगरबासीलाई दिने गरी काम गरिरहेका छौँ”, प्रमुख मियाँले भन्नुभयो, “उक्त योजना अनुसार अहिले बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला तथा सडक सरसफाइ भइरहेको छ ।” उहाँका अनुसार नालाको सफाइ महानगरले गरिरहेको छ भने सडकको सफाइ साझेदार संस्था पृथी ताराले गरिरहेको छ ।

“पहिला महानगरसँग नाला सफाइ गर्न लागि एउटा ‘जेटिङ मेसिन’ र एउटा ‘सक्सन मेसिन’ थियो”, शाखा प्रमुख मियाँले भन्नुभयो, “अहिले थप एउटा/एउटा मेसिन खरिद गरी नाला सरसफाइ अभियानलाई तीव्रता दिएका छौँ ।” साइरण जडित ट्याक्टर फोहरमैला व्यवस्थापनका लागि सञ्चालन गरिएको उहाँको भनाइ थियो ।

विगतमा महानगरसँग डम्पीङ साइड नहुँदा फोहरमैला व्यवस्थापनमा समस्या भएको जनाउँदै प्रमुख मियाँले चार वर्षअघि डम्पिङ साइड निर्माण गरेपछि फोहरमैला व्यवस्थापनमा कुनै समस्या नरहेको बताउनुभयो ।