आर्थिक अराजकता नियन्त्रणमा पूर्ण प्रतिबद्ध छु : अर्थमन्त्री डा महत

काठमाडौँ-अर्थमन्त्री डा प्रकाशशरण महतले ठूलो समस्याका रुपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरुक भएर लागेको बताउनुभएको छ ।कतिपय करदाता अदालत गएको निर्णयमा अनियमित भएका कारणले बेरुजु देखिएको उल्लेख गर्दै उहाँले समग्रमा आर्थिक अनुशासन कायम राख्ने र थप बढ्न नदिनेमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा उहाँले विभिन्न स्वरुपमा बेरुजु रहने भएकाले त्यो सबै दुरुपयोग भयो भन्नु गलत रहेको बताउनुभयो । आर्थिक अराजकता नियन्त्रणका लागि आफू पूर्णरुपमा लागिपरेको बताउनुभयो ।

मुलुकभित्र अत्यावश्यक कामका लागि आवश्यक रकम जोहो गर्न तथा अत्यावश्यक कामका लागि खर्च गर्नका लागि आकस्मिक कोषमा रकम राखिएको जानकारी दिनुभयो । विविध शीर्षकमा बढी बजेट राखिएको भन्ने सांसदहरुको जिज्ञासाको जवाफमा मन्त्री डा महतले अत्यावश्यक समस्यामा खर्च गर्ने रकमको जोहोका लागि विविध शीर्षकमा बजेट राखिएको बताउनुभयो ।

उहाँले राष्ट्रियसभाका सदस्यका तर्फबाट प्राप्त भएको सुझावलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाउनुभयो । अर्थमन्त्री डा महतले आर्थिक अनुशासन कायम गरिने र त्यसमा कुनै आशङ्का नगर्नसमेत आग्रह गर्नुभयो । बजेट कार्यान्वयमा देखिएका समस्या समाधानका लागि सरकारले पहल थालिसकेको उहाँको भनाइ छ ।

बजेट छर्ने प्रवृत्तिलाई रोक्न खोज्दाखोज्दै पनि तत्काल नसकिएको अर्थमन्त्रीले जानकारी दिनुभयो । बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमार्फत उठाइएको रकम मुआब्जा वितरणका लागि खर्च भएको उल्लेख गर्नुभयो । मन्त्री डा महतले सो आयोजना निर्माणका लागि कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढेको भनाइ राख्नुभयो ।

मुलुकका आइपर्ने अत्यावश्यक कामका लागि खर्च गर्नका लागि विविध शीर्षकमा रकम राख्नैपर्ने उल्लेख गर्दै उहाँले प्राकृतिक विपद्लगायतका कामका लागि अनावश्यक खर्च निषेध गर्ने र अनुशासन कायम गर्न आफू पूर्णरुपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री डा महतले नियम कानुनभन्दा बाहिर गएर कुनै पनि सरकारी स्रोत खर्च गर्न नसक्ने बताउनुभयो । आम्दानी नै कम भएकाले सङ्घीय सरकारको बजेट बढी घटाएर प्रदेश सरकारको बजेट कम मात्रै घटाइएको उहाँको भनाइ छ । बेथितीका कारण जोडिँदै आएका समस्या समाधानका लागि आफूले इमान्दार प्रयास गरेको अर्थमन्त्री डा महतको दाबी छ ।