प्रधानमन्त्री प्रचण्डलाई भेटेर पूर्वराष्ट्रपति डा यादवद्वारा समवेदना व्यक्त

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति पूर्वराष्ट्रपति डा रामवरण यादवले दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्वराष्ट्रपति डा यादवले आज प्रधानमन्त्री र उहाँको परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो ।

आजै पूर्वराष्ट्रपति विद्या भण्डारीकातर्फबाट पनि माधव भण्डारीले पनि प्रधानमन्त्री र उहाँको परिवारलाई भेट गरी दुःख व्यक्त गर्नुभएको छ ।यस्तै, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिले पनि प्रधानमन्त्री प्रचण्डलाई समवेदना प्रकट गर्नुभएको छ भने सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु बुद्धिमान तामाङ, रवीन्द्र मिश्रलगायतले पनि समवेदना प्रकट गर्नुभएको छ । यस्तै, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले पनि प्रधानमन्त्री निवास बालुवाटार पुगी समवेदना प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार राजनीतिक दलका नेता तथा कार्यकर्ता एवम् शुभेच्छुकले प्रधानमन्त्री पत्नी सीताको तस्विरमा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गर्नुभयो । प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि साँझ र बिहानको समय निर्धारण गरेको छ ।