के हजारौं निजामती कर्मचारी असुरक्षित भएकै हुन् ?

काठमाडौं । सरकारका अधिकृत र उपसचिवको प्रत्यक्ष संलग्नता रहेको र सहसचिव तथा सचिवबाट समेत साथ पाएको निजामती सेवा संरक्षण समूहले मंगलबार आमकर्मचारी असुरक्षित भएको भन्दै विज्ञप्ति जारी गर्‍यो ।

विज्ञप्तिमा हजारौं कर्मचारीसम्बद्ध सो समूहले ललिता निवास प्रकरणमा निजामती कर्मचारीलाई मात्रै निशाना बनाइएको र त्यसले कर्मचारीहरूको मनोबल खस्किएको तथा कार्यस्थलमा काम गर्ने वातावरण नभएको भन्दै आम कर्मचारीको सुरक्षामाथि प्रश्न उठाइएको छ ।

सो समूहले ललिता निवास प्रकरणमा अहिले भइरहेको छानबिनमा मुख्य निर्णयकर्ताको रूपमा रहेका पदाधिकारीहरूलाई उन्मुक्ति दिएर सामान्य प्रक्रियामा रहेका कर्मचारीलाई मात्रै धरपकड गरी दुःख दिइनुले कर्मचारीहरूले कार्यथलोमा काम गर्दा असुरक्षित महसुस गरेको र उनीहरूको मनोबल गिरेको दाबी गरेको छ ।

कर्मचारीको पेशागत सुरक्षाको जिम्मेवारी लिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो विषयमा केही बोलेको छैन । गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्मा पनि यो कर्मचारीको पेसागत सुरक्षाको विषय भएकाले यसमा आफूले केही भन्न नसक्ने बताउनुभयो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।