मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या ४५ प्रतिशतले बढ्यो

मुस्ताङ-मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या ४५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आव २०७९/८० मा मुस्ताङमा ४५ दशमलव ७५ प्रतिशत बढी पर्यटक भ्रमणमा आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ ।

एक्याप जोमसोमका प्रमुख अशोक सुवेदीले आव २०७९/८० मा कूल ७१ हजार सात सय सात विदेशी पर्यटक मुस्ताङ भित्रिएका जानकारी दिनुभयो । “यो सङ्ख्या कोभिडअघि र पछिको पर्यटकीय तथ्याङ्कमा अहिलेसम्मकै उच्च वृद्धि हो”, उहाँले भन्नुभयो, “आव २०७८/७९ मा कूल ३८ हजार आठ सय ९६ विदेशी पर्यटक भित्रिएका थिए ।”

अघिल्लो आवको तुलनामा ३२ हजार आठ सय ११ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन् । आर्थिक वर्ष २०७९/८० मा सार्क देशका ५९ हजार तीन सय १० जना र तेस्रो मुलुकका छ हजार सात सय ४९ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् । अघिल्लो वर्ष सार्क देशका ३६ हजार एक सय ५३ जना र तेस्रो देशका दुई हजार सात सय ४३ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए ।

पाँच हजार छ सय ४८ जना अन्नपूर्ण चक्रीय पदमार्गको थोराङ्ला झञ्याङ पारेर गरेर मनाङ हुँदै मुस्ताङ आएका हुन् । थोराङ पास गरेर मुस्ताङ आएका पाँच सय ६० जना सार्क मुलुक र पाँच हजार ८८ जना तेस्रो मुलुकका छन् । अघिल्लो वर्षको तुलनामा अन्नपूर्ण चक्रीय पदमार्ग भएर मुस्ताङ भित्रिने पर्यटकको सङ्ख्या ८७ प्रतिशतले बढेको छ । आव २०७८/७९ मा पाँच हजार छ सय ४८ जना थिए । वैशाख महिनामा सबैभन्दा बढी १६ हजार एक सय ३७ र कम माघ महिनामा छ सय २० पर्यटक आएका थिए ।

अर्ध निषेधित क्षेत्रका रूपमा रहेको उपल्लो मुस्ताङमा तीन हजार तीन सय ८८ जना पर्यटकले भ्रमण गरेका छन् । गत वर्ष अनुकूल मौसम, विपद् नभएको, सडक यातायातको सहज पहुँच, होटल तथा लजको सुविधा हुन थालेपछि मुस्ताङमा पर्यटक आगमन बढेको एक्याप जोमसोमका प्रमुख सुवेदीले बताउनुभयो ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ ।