भ्रष्टाचारमा कांग्रेसको शून्यसहनशीलता नीति : कांग्रेस प्रवक्ता डा महत

काठमाडौँ-नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले भ्रष्टाचार र अनियमितताका सम्बन्धमा पार्टीको शून्य सहनशीलताको नीति रहेको बताउनुभएको छ । यही साउन २ गते सुरु भई   केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयबारे जानकारी दिन  कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कांग्रेस सधैँ सुशासनका पक्षमा रहेको उल्लेख गर्नुभयो । कांग्रेसले सुशासनमा सधैँ अगुवाइ गरेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीले कुनै पनि दोषीलाई संरक्षण नगर्ने बताउनुभयो । कुनै पनि व्यक्तिलाई आरोप प्रमाणित नभएसम्म दोषी भन्न नमिल्ने उहाँको भनाइ थियो ।

कांग्रेसले तीनै तहको निर्वाचनमा बागी बनेर विजयी भएका पार्टीका नेता कार्यकर्ताको कारबाही फुकुवा गरेको उहाँले जानकारी दिनुभयो । यसैगरी कांग्रेसले पार्टीको महासमिति बैठक आगामी मङ्सिर ११, १२ र १३ गते काठमाडौँ गर्ने निर्णय गरेको उहाँले जानकारी गराउनुभयो ।

बैठकमा भएको खुला छलफलले पार्टी थप सुदृढ भएर अघि बढ्ने विश्वास व्यक्त गर्दै प्रवक्ता डा महतले कांग्रेसबारे जनतामा थप आकर्षण बढ्ने बताउनुभयो । बैठकमा प्रस्तुत साङ्गठिनक प्रस्तावलाई प्राप्त सुझावलाई समेटेर परिमार्जनसहित पारित गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेसका सांसद डा सुनिल शर्माले सुन तस्करी प्रकरणका सम्बन्धमा जिम्मेवारी लिँदै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको सम्बन्धमा प्रवक्ता डा महतले सांसद शर्माले आफ्नो अस्पताललाई स्वास्थ्य बीमा सुविधा पाउनका लागि आफूसँग पहल गरेको तर नपाएको झोँकमा जथाभावी बोलेको बताउनुभयो ।साथै उहाँले आफू सो प्रकरणमा छानबिनका लागि सघाउन लागिपरेको उल्लेख गर्दै आफू सदैव भ्रष्टाचार र अनियमितताका सम्बन्धमा शून्य सहनशीलताका पक्षमा रहेको बताउनुभयो ।