धुलिखेलदेखि रत्नपार्कसम्म ४० सिट क्षमताका २५ वटा बस सञ्चालन गरिन्छ : मन्त्री ज्वाला

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालन गरिने बताउनुभएको छ । एकीकृत सरकारी कर्मचारी सङ्गठनद्वारा आज आयोजित कार्यक्रममा उहाँले पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म ४० सिट क्षमताका २५ वटा बस सञ्चालनका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

उक्त सेवाका लागि छुट्टै सडक ल्यान्ड निर्माण थालिएको बताउँदै उहाँले सडक जाम हुने पिक आवरमा साँझ र बिहान सञ्चालन गर्ने सेवाबाट सर्वसाधारण लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । सेवालाई क्रमिक रूपमा काठमाडौँ उपत्यकामा विस्तार गरिने उहाँको भनाइ थियो । मन्त्री ज्वालाले निजामती सेवा ऐन छिट्टै ल्याउन छलफल चलिरहेको जानकारी दिँदै आगामी अधिवेशनमा पारित गरिने विचार व्यक्त गर्नुभयो ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका राज्यमन्त्री नन्दा चपाईले निजामती आन्दोलनका शहीदहरु मनोज जोशी, झपेन्द्र कार्की तथा सुरेन्द्र विकको स्मृति दिवसका अवसरमा सिभिल अस्पतालका बिरामीलाई फलफूल वितरण गर्नुभयो । उहाँले सो अस्पतालमा उपचाररत एक सय ५० जना बिरामीलाई फलफूल वितरण गर्नुभएको हो ।

काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती अस्पतालको सभाहलमा निजामती आन्दोलनका शहीदहरुको सम्झनामा सो कार्यक्रम आयोजना गरिएको थियो । नेकपा (एकीकृत समाजवादी) निकट सरकारी कर्मचारी सङ्गठनले सो कार्यक्रम आयोजना गरेको हो ।