सुन तस्करीका नयाँ फन्डा : कृषि फार्मको आवरणमा सुन गाल्दै

काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले नयाँनयाँ फन्दा पत्ता लगाउने क्रममा कृषि फार्मको आवरणमा सुन गलाउने गोदाम र ठमेलको होटल भियानामा छापा हानेको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार होटलका सञ्चालक दावा छिरिङलाई नियन्त्रणमा लिइएको छ । त्यस्तै, टोखाको गोदामबाट विभागको टोलीले सुन गाल्ने केही मेसिनसमेत बरामद गरेको छ ।

गत साउन ३ गते बुधबार त्रिभुवन विमानस्थलको भन्सार पास भएर आएको मोटरपार्टसमा लुकाएर ल्याइएको करिब एक सय किलो सुन बरामद गरेको थियो ।

सोही सुनको मालिकसम्म पुग्न विभागको टोलीले करिब आधा दर्जन ठाउँमा छापा मार्दै र अनुसन्धान अझ गहन बनाउँदै १८ जनालाई नियन्त्रणमा लिइसकेको छ ।

राजस्व अनुसन्धान विभागको टोलीले शनिबार राति ठमेलस्थित भियाना होटलबाट तिब्बती मूलका बेल्जिमय नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो भने टोखाको कृषि फारममा छापा मानेर सुन गाल्ने मेसिन बरामद गरेको थियो । छिरिङ होटलको सञ्चालक भए पनि श्रीमतीको नाममा सञ्चालन गरिरहेको बताइएको छ । छिरिङले पूर्वमन्त्री वर्षमान पुनलाई मामाको साइनो लगाएर कारोबार गर्ने गरेको पनि बताइएको छ । होटलबाट विभागको टोलीले केही सामग्री पनि बरामद गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो ।

शनिबार राति नै विभागको टोलीले टोखास्थित एउटा कृषि फार्ममा छापा मारेपछि तस्करीका सुन त्यहाँ गाल्ने गरिएको तथ्य खुलेको छ । विभागको टोलीले गएराति सो कारखानामा सुन गाल्न प्रयोग भएका सबै सामग्री उठाएर लगेको छ ।

कारखानामा ब्रेक सुमा राखेर ल्याइएका लगायत सुन गाल्ने र नयाँ बनाएर अन्यत्र लैजाने गरेको विभागको ठहर छ । राजस्व अनुसन्धान विभागले सो फार्मलाई विभाग र सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएर सिल गरेको छ ।

हङकङबाट ब्रेक सुमा राखेर ल्याइएको सुन नेपाल र हङकङको एक्स रे मेसिनले छलेर ल्याइएपछि यसमा कर्मचारीको मिलेमतो भएको पुष्टि भएको भन्दै विभागले तीन जना कर्मचारीलाई पक्राउ गरिसकेको छ । थप अन्य कर्मचारीमाथि पनि विभागले निगरानी बढाएको छ ।
ब्रेक सुको ६३ हजार रुपैयाँ भन्सार तिरेर विमानस्थलबाहिर निकालिसकेपछि राजस्व अनुसन्धान विभागले सुन समातेको थियो ।
सय किलो सुन तस्करीमा व्यापारी सञ्जय बबैया र राकेस अदुकियासहित अन्य केही सुन व्यापारीमाथि प्रहरी र राजस्व अनुसन्धान विभागले निगरानी बढाइसकेको छ ।

विमानस्थल भन्सार प्रमुख अरुण पोखरेलले दुई महिना लामो बिदा लिएपछि राजस्वले सो बिदा स्विकृतिको प्रक्रियामाथि पनि अनुसन्धान थालेको बताइएको छ ।

सुन कसको हो भन्ने निचोडमा अहिलेसम्म विभाग पुग्न सकेको छैन । नेपालका रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल मध्यस्तकर्ता मात्र भएको र चिनियाँ नागरिक लिन चुवाङ र तिब्वती मूलका भारतीय नागरिक पनि मध्यस्तकर्ता मात्र भएको निष्कर्ष अनुसन्धान टोली पुगिसकेको छ ।

एक अधिकारीका अनुसार मुख्य मालिक खोज्ने क्रमसँग संलग्नताको प्रमाण जुटाउँदै जाँदा भन्सार विभागकै आन्तरिक अध्ययनमा विमानस्थलका १५ जनाभन्दा बढी कर्मचारीको प्रत्यक्ष संलग्नता देखिएको छ । सय किलो सुनकाण्डमा विमानस्थल भन्सारका कर्मचारीको सेट नै जाने अवस्था बनेको उनले बताए ।

बरामद सय किलो सुनको वास्तविक मालिक खोजिरहेको राजस्व अनुसन्धान विभागले शनिबार टोखामा छापा मार्नुअघि तस्करीको सुन पहिलो चरणमा बालुवाटारमा रहेको ली चुवाङको कारखानामा लगी प्रशोधनका लागि टोखा पु¥याउने गरेको पत्ता लगाएको थियो ।
त्यो स्थलबाट झन्डै ७ सय किलो सुन त्यहीँ प्रशोधन भइसकेको बताइएको छ ।

सुन तस्करी प्रकरणमा धेरै जनाको नाम जोडिन पुगेपछि मुख्य अभियुक्तका रूपमा अनुसन्धान टोलीले व्यापारी राकेशकुमार अडुकिया नै हुनुपर्ने निष्कर्ष निकालेको बताइएको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएपछि उनी भूमिगत अवस्थामा छन् । अदुकियाको सेयर र बैंकमा लगानी रहेको छ । यसबाहेक अन्य व्यवसायमा पनि संलग्न रहेको छ । सुन र चाँदीको कारोबार गर्ने अदुकियाले चाँदीको आवरणमा सुन ल्याउने गरेको आरोप पनि खेप्दै आएका छन् । राजधानी दैनिकबाट