सय किलो सुन तस्करी प्रकरण :१८ जनाकै कल डिटेल्सका आधारमा दर्जनौं निगरानीमा

काठमाडौं । राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठूलो मानिएको १ क्विन्टल (सय किलो) सुन तस्करी प्रकरणमा पक्राउ परेका मुख्य डिजाइनरमध्येका एक मानिएका चिनियाँ नागरिक दावा छिरिङमा मुख्य अनुसन्धान केन्द्रित गरेको छ ।

दावासहित हालसम्म पक्राउ परेका १८ जनाकै कल डिटेल्स लिने काम सम्पन्न भएको र सोही आधारमा दर्जनौं व्यक्तिहरूलाई निगरानीमा राखेर थप अनुसन्धान अघि बढाइएको विभाग स्रोतले जानकारी दिएको छ ।

दावाको कलडिटेल्सका आधारमा केही राजनीतिक नेतृत्वसमेत निगरानीमा परेको हुन सक्ने स्रोतको दावी छ । सोही आधारमा केही राजनीतिक व्यक्तित्व तथा उच्च तहका व्यापारिक घरानासमेत तानिनसक्ने देखिएको छ ।

विभाग स्रोतका अनुसार सुन तस्करीको मुख्य डिजाइनर मानिएका दावासँग सामान्य केरकार र सोधपुछ भइरहेको छ । उनीसँग विस्तृत बयान लिने काम भने बाँकी रहेको र छिटै बयान लिइने विभागस्रोतले जानकारी दिएको छ ।

दावाले प्रयोग गरेका सबै मोबाइलको कल डिटेल्स लिने काम गरिएको र सो आधारमा अन्य संकास्पद व्यक्तिलाई निगरानीमा राखिएको छ । यस्तै, दावाले प्रयोग गर्दै आएका सबै इलेक्ट्रिक डिभाइसहरू प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।