कोशी प्रदेशमा नेपाली कांग्रेसबाट थापा पहिलो मुख्यमन्त्री

सुरुङ्गा (झापा- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बन्नुभएको छ । सत्ताइस दिनअघि अर्थात् असार २१ मा मुख्यमन्त्रीमा नियुक्त भए पनि उहाँलाई सर्वाेच्च अदालतले साउन ११ गते बिहीबार पदमुक्त गरेको थियो ।

समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नुभएका थापा प्रदेश संसदीय दलको नेता हुँदै प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्न सफल हुनुभयो । यस अर्थमा थापालाई भाग्यशाली नेताका रूपमा हेरिन थालेको छ । कोशीमा कांग्रेसबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति पनि थापा नै हुनुहुन्छ । यसअघि कोशी प्रदेशमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बन्नुभएको थियो ।

विसं २०१४ मङ्सिर १५ गते जन्मनुभएका थापा झापाको अर्जुनधारा नगरपालिका–७ का स्थायी बासिन्दा हुनुहुन्छ । विसं २०३२ मा नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घको सदस्यता लिएर राजनीति सुरु गर्नुभएका थापा २०४७ सालमा अर्जुनधारा गाउँ विकास समिति सचिव हुँदै कोशी प्रदेशको मुख्यमन्त्रीसम्म बन्नुभयो ।

विसं २०४८ को नेपाली कांग्रेसको आठौँ जिल्ला अधिवेशनबाट पार्टीको २ नम्बर क्षेत्रीय सभापतिमा निर्वाचित थापा दशौँ अधिवेशनसम्म आइपुग्दा जिल्ला सचिव, ११ औँ अधिवेशनबाट जिल्ला उपसभापति र १२ औँ अधिवशेनपछि जिल्ला सभापति हुनुभयो । उहाँले दुई कार्यकाल झापा कांग्रेसको नेतृत्व सम्हाल्नुभयो ।

नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा जिल्ला सभापतिका लागि भएको निर्वाचनमा वर्तमान महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गर्दै उहाँ पार्टी सभापति बन्नुभएको थियो । तर १३ औँ महाधिवेशनमा शर्माकै प्रस्तावमा दोस्रो कार्यकालका लागि थापा जिल्ला सभापतिमा सर्वसम्मत चुनिनुभयो ।

विद्यार्थी राजनीतिमा शङ्करदेव क्याम्पसमा स्ववियु सभापति लड्नुभएका थापा अखिलसँगको लफडाले चुनावै बिथोलिएपछि सभापति बन्न पाउनुभएको थिएन तर, राजनीतिलाई सधैँ केन्द्रविन्दुमा राखेर निरन्तर अघि बढ्नुभएका थापा नेपाली कांग्रेसको संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्नुभएको हो ।

व्यवस्थापन सङ्कायमा स्नातकसम्मको अध्ययन गर्नुभएका थापाले यसअघि तत्कालीन जिल्ला विकास समिति झापाको संयन्त्र सदस्य भएर तीन वर्ष काम गर्नुभयो । विसं २०७० को संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नं ४ मा उम्मेदवार बन्नुभएको थियो तर, नेकपा एमालेका उम्मेदवार प्रेम गिरीसँग उहाँ पराजित हुनुभएको थियो ।

पार्टीको आन्तरिक प्रतिस्पर्धामा सधैँ अब्बल रहनुभएका थापा २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा झापा २ मा एमालेकै उम्मेदवार पवित्रा निरौला खरेलसँग पराजित बन्नुभयो । दोस्रो पटक संसदीय निर्वाचन हार बेहोरे पनि पार्टीमा फड्को मार्न भने उहाँलाई त्यो असफलताले छेकेन । पार्टीको १४औँ महाधिवेशनमा प्रदेश सभापतिमा विजयी बनेपछि थापालाई अवसरको ढोका खुलेको बताइएको छ ।