आफ्नै पार्टीका भए पनि भ्रष्टाचारमा संलग्नलाई कुनै पनि हालतमा छाडिन्न : प्रधानमन्त्री दाहाल

काठमाडौँ-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता भए पनि भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कुनै पनि हालतमा नछाडिने उद्घोष गर्नुभएको छ । यही साउन १७ देखि राजधानीमा चलेको केन्द्रीय समिति बैठकको समापनका क्रममा उहाँले भ्रष्टाचार विरोधी अभियानमा आफ्ना र अरू नभनी दोषी ठहरिएकालाई कडा कारबाही गरिने बताउनुभयो ।

“तपाइँलाई म प्रस्टसँग भन्छु, यसमा आफ्ना वा अरू कोही भनिने छैन । आफ्नै टाउकोमा आगो सल्काएरमात्र हामीले यो अभियानलाई निष्कर्षमा पुर्‍याउन सक्छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यसैले तपाइँहरू कोही पनि भ्रमित नहुनुहोला । सरकार दृढतापूर्वक अगाडि बढ्छ ।”

उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउनुभयो । “भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा जुन कदम चालिएको छ, यसले सिङ्गो देशको फोहोरमात्र सफा गर्ने छैन, कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीलाई पनि रूपान्तरण गर्नेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । भ्रष्टाचारविरुद्धको अभियान कुनै आवेग वा उत्तेजनामा सुरु नगरिएको दोहोर्‍याउँदै उहाँले यस अभियानबाट भ्रष्ट शक्ति र प्रवृत्ति अत्तालिएको बताउनुभयो ।

पाँचदिन चलेको केन्द्रीय समितिको बैठक सिङ्गो देश, कम्युनिष्ट आन्दोलन र पार्टीको रूपान्तरणका दृष्टिले ऐतिहासिक भएको उल्लेख गर्दै अध्यक्ष दाहालले तीनमहिने अभियानबाट पार्टीलाई नयाँस्तरमा विकास गरिने बताउनुभयो । “बैठकमा जुनस्तरको वैचारिक, साङ्गठानिक र भावनात्मक एकतासहित मूल नेतृत्वको वरिपरि केन्द्रीकरण भएको छ, यसले माओवादी पार्टी र आन्दोलनलाई नयाँ उचाइमा उठाउनेछ”, उहाँले भन्नुभयो ।

उहाँले अहिलेको परिस्थितिमा देशको सबैभन्दा क्रान्तिकारी र प्रगतिशील विचार र कार्यक्रमको नेतृत्व गर्ने पार्टी माओवादी नै भएको दाबी गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “हामीले महाधिवेशनबाट प्रस्ट गरेका छौँ, हामी समाजवादको तयारीमा जान्छौँ । समाजवादको तयारी शान्तिपूर्ण रूपमा गर्छौँ । यो कार्यदिशामा पार्टीभित्र प्रस्टता र एकरूपता जरूरी छ ।”