भरतपुर महानगरपालिकाले तोक्यो डेङ्गु परीक्षण शुल्क, समयमै रिपोर्ट दिन स्वास्थ्य संस्थालाईअनुरोध

भरतपुर- भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेङ्गु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ । डेङ्गु परीक्षणका लागि आधिकतम रु छ सय तोकिएको हो ।

महानगरप्रमुख रेनु दाहालले शुल्कमा एकरूपता गराउन र नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको बताउनुभयो । उहाँले महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई समयमै रिपोर्ट दिन समेत अनुरोध गर्नुभयो । जिल्लाका प्रदेशस्तरका स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण निःशुल्क हुने गरेको छ । भरतपुर अस्पतालले भने रु आठ सय लिँदै आएकोमा अब रु छ सयमात्र लिने जनाएको छ ।
पछिल्लो समय जिल्लामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । साउनयता जिल्लामा ५२ जनामा उक्त सङ्क्रमण पुष्टि भइसकेको छ ।