सीआईबीको सुइले भेट्न सक्ला मुख्य गिरोह ?

काठमाडौं । सय किलो सुन तस्करीको खुलासा भएको २६ दिन बितिसक्दासमेत तस्करी सञ्जालको मुख्य र माथिल्लो तहका बारेमा अनुसन्धान गर्ने निकायहरू बेखबर देखिएका छन् ।

राजस्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालय पास गराएर गन्तव्यतर्फ लैजानै लाग्दा सय किलो तस्करीको सुन बरामद गर्न सफल भएको थियो ।

विभागले सुन बरामद गरेलगत्तै विभिन्न अप्रेसनसमेत सञ्चालन गरेको थियो । सुरूमा विभागले तस्करहरूद्वारा तस्करीको सुनलाई राख्न काठमाडौंका विभिन्न स्थानमा बनाइएका सेल्टरसमेत पत्ता लगाएको थियो । विभागले १८ दिनसम्म अनुसन्धान गरी थप अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएको थियो ।

विभागले सो तस्करी प्रकरणलाई संगठित अपराधका रूपमा लिँदै त्यसको छानबिन गर्ने जिम्मेवारी गत २० साउनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको हो । विभागले त्यस क्रममा पक्राउ परेका १७ जनालाई समेत सीआईबीको जिम्मा लगाएको थियो ।

प्रहरीस्रोतका अनुसार यति ठूलो राष्ट्रिय महत्वको विषयलाई सीआईबीले उच्च प्राथमिकता दिएर छानबिन गर्न सकेको छैन । सीआईबीमाथिको राजनीतिक दबाबले सीआईबीको नेतृत्व सकस र दबाबमा परेको स्रोतको दाबी छ ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।