समाजवादी मोर्चामा विश्वासको संकट

काठमाडौं । सत्ता गठबन्धनमा रहेका तीन कम्युनिस्ट पार्टी र संसदीय राजनीति बाहिर रहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितको चार दलीय समाजवादी मोर्चामा विश्वासको संकट गहिरिँदै गएको छ ।

ललिता निवास प्रकरण र गौर हत्याकाण्डमा सरकारको भूमिकालाई लिएर मोर्चामा आबद्ध दलका नेताबीच विश्वासको संकट उत्पन्न भएको हो ।

भविष्यमा समाजवादको साझा लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ चार दल मिलेर घोषणा गरेको समाजवादी मोर्चामा पछिल्लो समय सामान्य समस्याहरू आएको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए ।

उनले भने– ‘बिग्रिएकै अवस्था त्यस्तो केही छैन तर, हाम्रो पार्टीका अध्यक्ष माधव कमरेडप्रति सरकारले हेर्ने दृष्टिकोणमा केही फरक आएको हो कि भन्ने बुझेका छौं । यसले समाजवादी मोर्चामा सामान्य असर परेकै छ । जुन उद्देश्यकासाथ मोर्चा बनेको हो त्यसअनुसारको गतिविधि भएको पाइएको छैन ।’

पछिल्लो समय मोर्चामा आबद्ध दलहरूबीच देखिएको अविश्वासले मोर्चाको भविष्यमाथि नै प्रश्न उठेको कतिपय नेताहरू नै बताउँछन् । मोर्चाको अध्यक्षता गर्दै आएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटारको सरकारी जग्गा ‘ललिता निवास’ प्रकरणमा तानिएपछि सरकारप्रति सशंकित हुनुभएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।