नेपाल सरकार समक्ष पेस गरिएको निर्वाचन व्यवस्थापन विधेयक छिटो सदनबाट पारित गराउन आयुक्त थपलियाको आग्रह

काठमाडौँ, ११ भदौ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल सरकार समक्ष पेस गरिएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा आम बहस गरी छिटो सदनबाट पारित गराउन आग्रह गर्नुभएको छ ।
निर्वाचन आयोग र नेपाल कानुन समाजले आज सञ्चारकर्मीसँग गरेको छलफलमा उहाँले मुलुकको शासकीय सुधारका लागि निर्वाचन कानुनको सुधार अपरिहार्य भएको स्पष्ट गर्नुभयो ।

गत वर्ष भएका विभिन्न निर्वाचनको समीक्षा र प्राप्त सुझावलाई ध्यान दिई आयोगले एकीकृत निर्वाचन कानुनको विधेयक गत असार १८ गते निर्णय गरी गृह मन्त्रालयसमक्ष पेस गरेको थियोे ।

कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका पूर्वसचिव माधव पौडेलले उक्त विधेयक पारित भएमा व्यापक सुधार हुने उल्लेख गर्दै निर्वाचनको सवालमा नैतिक मूल्य मान्यतालाई पनि राजनीतिक दलले आत्मसात गर्नुपर्ने बताउनुभयो । उक्त विधेयक तर्जुमा गर्नु २०७८ पुस १४ गते नेपाल सरकारबाट सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।