अर्थमन्त्रालयले सहमति नदिँदा भेरी करिडोरको तल्लु –दुनै सडक अलपत्र

जाजरकोट, ११ भदौ : भेरी करिडोरअन्तर्गत जाजरकोटको तल्लुदेखि डोल्पाको सदरमुकाम दुनैसम्म अस्थायी ट्र्याक खोलिएको सडक निर्माण रोकिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत ६२ किलोमिटर सडक कालोपत्रका लागि स्रोत सुनिश्चित गर्न माग गरिए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा काम रोकिएको भेरी करिडोर सडक आयोजना कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष नै कालोपत्रका लागि रकम माग गरिए पनि अर्थ मन्त्रालयले हालसम्म सहमति नदिएकाले निर्माण अलपत्र परेको आयोजनाका प्रमुख सुजन अधिकारीले बताउनुभयो । उहाँका अनुसार एक सय १८ किलोमिटर सडकमध्ये ५६ किलोमिटरमा ठेक्का भई कालोपत्रको काम जारी रहेको छ । जाजरकोटको पासागाडदेखि तल्लुसम्म कालोपत्रको काम यति विल्ड्रस प्रालिले गरिरहेको जनाउँदै उहाँले बाँकी ६२ किमी सडकको काम रोकिएको बताउनुभयो ।

“चालु आवमा पनि माग गरी पठाएका छौँ । यदि अर्थले सहमति दिएर रकम निकासा भए गत आवमा विनियोजन गरिएको बजेटभन्दा चारगुणा बढी बजेट पाउने सम्भावना देखिएको छ”, प्रमुख अधिकारीले भन्नुभयो । उहाँका अनुसार गत आवमा सरकारले भेरी करिडोरका लागि रू ५० करोड विनियोजन गरेको थियो ।

उक्त बजेटले जाजरकोट खलङ्गाको पासागाडदेखि तल्लुअन्तर्गत काम भइरहेको बताउँदै रकम अभावका कारण निर्माण प्रभावित भएको प्रमुख अधिकारीले बताउनुभयो । तल्लुबाट त्रिपुराकोटसम्म काम सम्पन्न भए मात्रै यस सडकखण्डले पूर्णता पाउने उहाँको भनाइ थियो । आव २०७९÷८० मा स्रोत सुनिश्चित गरेर काम सुरु गर्ने भनिए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा काम रोकिएको प्रमुख अधिकारीले बताउनुभयो ।

यस आवमा पनि स्रोत सुनिश्चित गर्न ढिलाइ गरी काममा अवरोध गर्नु भनेको यस क्षेत्रको विकासमा बाधा पु¥याउने काम भइरहेको डोल्पा त्रिपुराकोटका रामचन्द्र न्यौपाने बताउनुभयो । कच्ची सडक र पुल नहुँदा अहिले यस सडकखण्डमा दैनिक यात्रा गर्न सास्ती भइरहेको उहाँको भनाइ थियो ।

भारतको रोपैडियाँ, लुम्बिनी प्रदेशको नेपालगञ्ज, कर्णालीको सुर्खेत–छिन्चु, सल्यानको सल्लीबजार, जाजरकोट, रुकुम पश्चिम, डोल्पा तथा चीनको सिमाना क्याटो, मरिम्ला यस सडकले जोड्ने उहाँले बताउनुभयो । सरकारले यसलाई प्राथमिकता राखी त्रिदेशीय सडकका रुपमा विकास गरे चीनसँगको व्यापारमा समेत सहजता आउने डोल्पालीले माग गर्दै आएका छन् ।

यो सडक भेरी नदीको किनारै किनारमा पर्दछ । दुनैसम्म अहिले कच्ची सडक भए पनि सोभन्दा माथि उपल्लो डोल्पामा भने सडक सञ्जाल पुगेको छैन । पालिकाले आफ्नै पहलमा केही कच्ची सडक निर्माण गरेपछि साना तथा दुई पाङ्ग्रे सावारी सञ्चालन हुने गरेका स्थानीय बताउँछन् ।

पुल निर्माणमा ढिलाइ

पुल निर्माण गर्नसमेत अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगर्दा भेरी करिडोरमा बाँकी पुलको काम हुन नसकेको आयोजनाका प्रमुख अधिकारीले बताउनुभयो । ठेक्का सम्झौता भई निर्माण सुरु हुनुपर्ने बेलासम्म पनि पुल विभागले डिजाइन स्वीकृत नगर्दा काममा विलम्ब हुँदै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार भेरी करिडोरको चुँगाड, रिजिगाड, उसुमखोला, करवगाड, खदाङ, मैदे खोला पक्की पुलका लागि स्रोत सुनिश्चित हुन ढिला भएको छ ।

त्यस्तै तल्लु, छलगाड, झिम्रिखोला, ताँसुगाडको ठेक्का सम्झौता भइसकेको छ भने पिपेको डिजाइन स्वीकृत भएको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार झिमिखोला, नलगाड, करवगाड, खदाङ, त्रिपुराकोटमा अस्थायी बेलिब्रिज निर्माण गरी यातायातका साधन सञ्चालनमा भइरहेका छन् ।