सेनाको हेलिकोप्टरमार्फत बडिमालिकाको दर्शन गर्न गएका दुई जनाको उद्धार

बाजुरा, १२ भदौ : धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अक्सिजन अभाव भएपछि बिरामी भएका उनीहरुलाई आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सोमबार बडिमालिकाको त्रिवेणीधाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए–०६१ बेलको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिनुभयो ।

लडेर घाइते भएका न्यौपानेको टाउकोमा गम्भीर चोट लागेकाले अवस्था चिन्ताजनक रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ भने धामीको जिल्ला अस्पताल बाजुरामा उपचारपछि घर फर्काइएको छ ।

बडिमालिकाको दर्शनका लागि गएका तीर्थयात्री न्यौपाने सोमबार दिउँसो २ः४५ बजे त्रिवेणी पाटनस्थित खोलामा बेहोस अवस्थामा भेटिनुभएको थियो । उहाँलाई दुर्गाभञ्जन गुल्मले त्रिवेणीमा सञ्चालन गरेको मेडिकल क्याम्पमा ल्याई अक्सिजनसहित प्राथमिक उपचारपछि आज सुर्खेत पठाइएको दुर्गाभञ्जन गुल्म बाजुराले जनाएको छ ।

घाइते भएर बेहोस भएका न्यौपाने बर्बराउने र बेला–बेलामा बोल्ने गरेकाले थप उपचारका लागि सुर्खेत पठाइएको गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताउनुभयो । सोमबार उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर बडिमालिकाको त्रिवेणीधाममा गएको भए पनि मौसम खराबीका कारण मार्तडीमा राखिएको थियो ।