‘हावा’ मा आलुको बिउ उत्पादन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीमा रहेकाे खाद्यान्न तथा बिउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’ मा आलुको बिउ उत्पादन थालेको छ । धुलिखेलमा रहेकाे काठमाण्डाै विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि ‘एरोपोनिक’ अर्थात् हावामा बिउ उत्पादन थालिएको हो ।

यस उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बिउ उत्पादन गर्दै आएको थियो । ‘यस प्रविधिअन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ । यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेशिनबाट नै पठाइन्छ’, उद्योगका सञ्चालक शशि अधिकारीले भन्नुभयो । उहाँका अनुसार ४० दिनमा ती बिरुवाको जरामा झुप्पा बनी बिउ बन्दछन् ।

एक बिरुवामा ५० देखि चार सयसम्म बिउ उत्पादन हुने अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रकृतिको बिउ उत्पादन गर्न उद्योगमा एक करोड रुपैयाँमा छुट्टै प्रयोगशाला निर्माण गरिएको छ । नयाँ प्रविधि भएकाले अन्य जातका आलुको तुलनामा उत्पादनको परिमाणबारे यकिन गर्न नसकिएको उहाँको भनाइ थियो ।

‘यसरी उत्पादन गरिएको बिउलाई परीक्षणका लागि निर्माण गरिएको टनेलमा झन्डै पाँच पटक (पाँच पुस्ता) सम्म रोपेर मात्रै किसानलाई खेतबारीमा रोप्न पठाउने गरिन्छ’, अधिकारीले भन्नुभयो । उहाँका अनुसार गएकाे साउनदेखि याे नौलो प्रविधिबाट आलुको बिउ उत्पादन प्रक्रिया थालिएको हो ।

यो प्रविधि नेपालमै नयाँ भएकाले यसप्रति कृषि प्राविधिकको चासो बढेको उद्योगका अर्का सञ्चालक राजेन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार उद्योगका प्राविधिकले नयाँका साथै पुरानै जातका आलुको नयाँ प्रविधिबाट बिउ उत्पादन गर्न थालेका छन् ।

यस उद्योगमा आलुको बिउ उत्पादनमा नयाँ प्रविधि ल्याइएपछि अहिले किसान, कृषि प्राविधिक तथा बिउ व्यवसायी अवलोकनका लागि आउने गरेका थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगमा सिँचाइका लागि गएकाे आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ११ लाख ५४ हजार रुपैयाँ विनियोजनसमेत गरिएको थियो ।