कैकु–खन्ती खण्ड कालोपत्र भएपछि यात्राअवधि छोटियो

म्याग्दी, २१ भदौ : मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलादेखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको हो । योजना प्रमुख जगत प्रजापतिले सडक कालोपत्र भएपछि एक घन्टा ३० मिनेटको यात्रा अवधि आधा घन्टामा छोटिएको जानकारी दिनुभयो ।

“कैकुखोला–खन्ती सडक कालोपत्र भएपछि एक घन्टा यात्रा अवधि छोटिएको छ”, उहाँले भन्नुभयो, “मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई सहज भएको छ ।”

एघार मिटर फराकिलो बनाइएको उक्त सडकमा नाली, पर्खाल निर्माण र ग्राभेलपछि सातदेखि आठ मिटरको चौडाइका दरले कालोपत्र गरिएको छ । उकालो सडकमा ढलान गरिएको छ । भिरको जोखिमयुक्त सडकको डिलतर्फ साइडबार राखिएको छ । सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिएको र आवतजावत सहज भएको स्थानीयवासीले बताएका छन् । मालढुङ्गादेखि कोरला नाकाको दुई सय दुई किलोमिटर दूरीको सडक विस्तार गर्न सञ्चालित १२ प्याकेजमध्ये कैकु–खन्ती खण्ड पूर्णरुपमा कालोपत्र गरिएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजमा पर्ने सो सडक कालोपत्र गर्न २०७४ जेठमा शर्मा–गजुरमुखीसँग ठेक्का सम्झौता भएको थियो । कैकु–खन्तीसहित बेनी–जोमसोम खण्डको चार प्याकेज (भाग) मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको थियो । विसं २०७४ मा सुरु भएको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ खण्डमा निर्माण कार्य जारी छ । हालसम्म मुस्ताङको सात खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७५ प्रतिशत छ ।

यस्तै एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये छ खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेको योजना प्रमुख जगत प्रजापतिले बताउनुभयो । आठ पक्की पुल र तीन बेलिब्रिज निर्माण गरिएको छ । थप एउटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । बाह्र मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।