गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक

गण्डकी, २४ भदौ : गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो ।

गायक सपूतको शब्द÷सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिनुभएको छ । गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी र स्वयं सपूतको अभिनय रहेको छ ।

आरन प्रोडक्सनले प्रस्तुत गरेको सो गीत गायक सपूतको आफ्नै युट्युब च्यानलबाट गए राति सार्वजनिक गरिएको हो । महिलामाथि हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश गीतले दिन खोजेको गायक सपूतले बताउनुभयो । नेपाली समाजको संवेदनशील र महत्त्वपूर्ण कथालाई तीज गीतका माध्यमबाट बाहिर ल्याएको उहाँको भनाइ छ । विषय, प्रस्तुति र निर्देशनका हिसाबले आफ्ना लागि पनि यो गीत विशेष रहेको सपूतले बताउनुभयो ।

दुई वर्षअघि सार्वजनिक गीत ‘कुरा बुझ्न पर्च’मा सपूतले महिलाको सोच र आत्मविश्वासलाई प्रस्तुत गर्नुभएको थियो । लैङ्गिक समानताको विषयलाई गीतले समेटेको थियो । सो गीतमा पनि नायिका स्वस्तिमा खड्का र आँचल शर्माको अभिनय छ ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिनुभएका गायक सपूतका यसअघि ‘पिर’, ‘गलबन्दी’, ‘बोलमाया’, ‘सकम्बरी’, ‘दमाइ महाराज’लगायत गीत सार्वजनिक भइसकेका छन् । ‘गलबन्दी’ उहाँको सबैभन्दा बढी रुचाइएको गीत हो ।