कर्णालीको बहुआयमिक गरिबीविरुद्ध लड्न बलियो खजाना आवश्यक : मुख्यमन्त्री शर्मा

कर्णाली-कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको बहुआयामिक गरिबीविरुद्ध लड्न बलियो खजना आवश्यक भएको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आईतबार बसेको ३५औँ बैठकमा मुख्यमन्त्री शर्माले अन्तर्राष्ट्रिय मानव अधिकार आयोग अन्तरसरकारी संस्था स्विटजरल्यान्डको जुरिचमा भएको वित्तीय, सामाजिक, मानवता, निजी, सहकारी समुदाय र हरितसम्बन्धी कार्यक्रममा कर्णालीको बहुआयमिक गरिबीविरुद्ध लड्न बलियो खजानाको आवश्यकताबारे विशेष मुद्दा उठाइएको बताउनुभयो ।

सदनलाई जानकारी गराउँदै उहाँले भन्नुभयो, “मानव अधिकारको कुरा गर्दै गर्दा गरिबीका कारण कर्णालीको मानव अधिकार हनन भएको कुरा हामीले जुरिचको छलफलनमा राखेका छौँ । गरिबीविरुद्ध लड्न राम्रो खजना आवश्यक भएको औँल्याएका छौँ ।” मानव अधिकार सुनिश्चित गर्नेबारे संस्थाका सेक्रेटरी प्रोफेसर राखेलसँग लामो छलफल हुनाका साथै फलदायी पनि भएको मुख्यमन्त्री शर्माले बताउनुभयो ।

कर्णालीमा मानव अधिकार स्थापित गर्न सोचेभन्दा माथिको छलफल भएको बताउनुभएका यहाँले स्विट्जरल्यान्ड सरकारले नेपाल सरकारलाई सहयोग गर्दै आएको विषयमा समेत कुरा भएको र अब पनि यहाँको विकासका लागि स्विट्जरल्यान्ड सरकार सहकार्य गर्न आतुर रहेको बताउनुभयो ।

कार्यक्रममा भएको छलफलको रिपोर्ट प्रधानमन्त्री दिएको बताउँदै मुख्यमन्त्री शर्माले वैदेशिक सहयोग सिधै प्रदेश सरकारले लिन नपाउने प्रावधान भएकाले सङ्घीय सरकारमार्फत कर्णालीको विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु हुने गर्न अनुरोध गरिएको जनाउनुभयो । सरकार जहाँ रहे पनि जनताका काम नरोकिएको दाबी गर्दै उहाँले स्विट्जरल्यान्ड सरकार कर्णाली प्रदेश सरकारसँगको सहकार्यमा लगानी गर्न उत्साहित रहेको सदनलाई जानकारी दिनुभयो ।