सरकार भ्रष्टचार विरुद्धको अभियानबाट पछि हट्दैन – नेता पौडेल

गण्डकी – नेकपा (माओवादी केन्द्र) का सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले सरकार भ्रष्टचार विरुद्धको अभियानबाट पछि नहट्ने बताउनुभएको छ ।पोखरामा आयोजित प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिको पूर्ण बैठकमा उहाँले सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकार दृढ रहेको उल्लेख गर्नुभयो । “बरु सरकार छोड्न परे पनि जनतालाई अपिल गरेर छोड्छौँ, तर सुशासनको अभियानलाई बीचमै राक्दैनौँ”, नेता पौडेलले भन्नुभयो, “भ्रष्टाचार विरुद्धको अभियान थालेपछि देशव्यापी रूपमा सरकार र पार्टीप्रति सकारात्मक सन्देश गएको छ ।”

उहाँले तीन महिने पार्टी रूपान्तरण अभियानले माओवादी केन्द्रलाई पुनः जनतामा स्थापित गर्ने बताउनुभयो । “विधान अधिवेशनमार्फत साङ्गठानिक सुधारसँगै विचार र कार्यक्रममा पनि व्यापक बहस गरेर अगाडि बढ्छौँ”, नेता पौडेलले भन्नुभयो, “पार्टीलाई नयाँ पुस्तासँग जोड्ने गरी लाग्नुपर्ने आवश्यकता छ ।”

परिवर्तनका संवाहक दल भएर पनि माओवादीले आफ्ना मुद्दा र उपलब्धिलाई जनस्तरमा स्थापित गर्न नसकेको उहाँले बताउनुभयो । “संसद्मा पनि हामी एक्लो जस्ता छौँ, आलोचक दल धेरै छन्, हामीले त्यसको प्रतिवाद गर्न सकिरहेका छैनौँ”, नेता पौडेलले भन्नुभयो, “माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्न एकथरि तत्व सक्रिय छ ।”