सुन तस्करीको मुख्य कारोबारी खुल्न सकेन

काठमाडौं । सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान प्रतिवेदन बुझाउने समय नजिक आउँदा पनि लगानीकर्ता यकिन गर्न सकेको छैन । चीनतर्फका लगानीकर्ता चिनियाँ नागरिक नै हुन् भने पनि प्रमुख व्यक्ति अझै पत्ता लागिसकेको छैन ।

त्यस्तै भारततर्फ किन्ने समूह पनि पत्ता लागेको छैन । ‘हालसम्म पक्राउ परेकाहरू बिचौलिया र नेपालबाट सुन सप्लाई गर्नेहरू मात्रै रहेका छन्,’ सिआइबी स्रोतले भन्यो । संगठित अपराध र अन्तरदेशीय अपराधमा अनुसन्धान गरिरहेको सिआइबीले अनुसन्धानका लागि समय अपुग भएको र यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै एकदुई दिनमै प्रतिवेदन सरकारी वकिलको कार्यालय पठाउने भएको छ ।

सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले अनुसन्धान प्रतिवेदन तयार गरिहाल्नुपर्ने कानुनी बाध्यता रहेकाले एकदुई दिनभित्रै सरकारी वकिल कार्यालय पठाउने बताइन् । ‘६० दिनभित्र अदालतमा मुद्दा टेकाइ सक्नुपर्ने कानुनी बाध्यता रहेको छ, जसले गर्दा अनुसन्धान प्रतिवेदन चाँडै बुझाउनुपर्ने बाध्यता रहेको हो,’ एआइजी बज्राचार्यले भनिन् ।सरकारी वकिल कार्यालयले ताकेता गरेकाले सिआइबीले सकेसम्म मंगलवारे अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । यो समाचार नागरिक दैनिकमा छ ।