देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

काठमाडौँ, २६ भदौ : सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताउनुभएको छ ।

उहाँले नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ भन्नुभयो । “प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, उहाँले भन्नुभएको छ ।नेम्वाङको हृदयघातबाट गए राति १ः३० बजे निधन भएको हो ।