मुलुकको विकास लागि विज्ञान प्रविधिको प्रयोग आवश्यक : अध्यक्ष ओली

काठमाडौँ-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका विकास लागि विज्ञान प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभएको छ । ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा एमाले विज्ञान तथा प्रविधि विभागले राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा प्रविधिको वर्तमान अवस्था र चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले विज्ञान प्रविधिको प्रयोग नगरिकन मुलुकको विकास सम्भव नहुने बताउनुभयो । उहाँले विज्ञानलाई नेपालले बुझेको भन्दै विज्ञान प्रविधिको सही प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले विज्ञान अत्यन्तैै आवश्यक कुरा रहेको उल्लेख गर्दै विज्ञानको विकास गर्ने कि प्राप्त गर्ने भन्ने कुरा मात्र फरक रहेको बताउनुभयो । उहाँले विज्ञानले प्रकृतिमा रहेका नियमलाई सत्यतथ्यलाई बताउने बताउनुभयो ।

उहाँले ज्ञान र शिक्षाको पहिलो थलो हाम्रो मुलुक रहेको भन्दै ज्ञान प्राप्त गर्ने कुरामा बीचमा ‘ब्रेक’ लागेको र अहिले त्यो हटेको धारणा राख्नुभयो । उहाँले मुलुकको विकास गर्नका लागि कठिनाइ रहेको उल्लेख गर्दै भन्नुभयो, “कठिनाइ हामीसँग रहेका छन् । हामीले केही गरेका छौँ । तर जहाँसम्म गर्नुपर्ने हो त्यो मात्र नगरेका मात्र हौँ ।”

उहाँले अध्ययन अनुसन्धानतर्फ ध्यान नदिँदा विकास निर्माण अघि नबढेको भन्दै विज्ञान प्रविधि आवश्यक रहेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “हामी ती पुर्खाका सन्तान हौँ जसको ‘जेनेटिक मेमोरी’ले काम गर्न सक्दछ । हाम्रो जीवनमा हाम्रा वैज्ञानिक पुर्खाको रगत रहेको छ । त्यसले गर्दा हामी छिट्टै जान्न र सिक्न सक्दछौँ ।”

उहाँले मासुमा आत्मनिर्भर भनिएको भए पनि विदेशबाट ट्रकका ट्रक खसी आउने गरेको बताउनुभयो । “आत्मनिर्भर त भन्छौँ । दशैँका लागि थुप्रै फर्मले खसीबोका हुर्काइरहेका होलान् । मेरा आँखा अगाडिबाट ट्रकका ट्रक खसी बोका आइरहेका छन् भने कसरी पत्याउने मासुमा आत्मनिर्भर छौँ भनेर ?”, उहाँले भन्नुभयो ।
–––