सल्लाहकार मायालुको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, ५ असोज : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सल्लाहकार खेमराज भट्ट ‘मायालु’को निधनमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले दिवङ्गत मायालुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र सहयोद्धामा समवेदना प्रकट गर्नुभएको छ ।

पूर्वमन्त्री मायालुको फोक्सोको क्यान्सरका कारण गएराति ७३ वर्षको उमेरमा निधन भएको थियो । २०७० सालमा उहाँ एकीकृत नेपाल कम्युुनिष्ट पार्टी (माओवादी)मा समाहित हुनुभई केन्द्रीय सल्लाहकार बन्नुभएको थियो ।

सल्लाहकार मायालुको निधनबाट माओवादी मर्माहत

नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सल्लाहकार खेमराज भट्ट ‘मायालु’को निधनको खबरले सिङ्गो पार्टी पङ्क्ति मर्माहत भएको जनाएको छ । माओवादी केन्द्रका कार्यावहक अध्यक्ष नारायणकाजी श्रेष्ठले आज एक वक्तव्य जारी गर्दै दिवङ्गत मायालुप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

मायालुले डडेलधुराबाट बर्दियाको दौलतपुरमा बसाइँ सरी नेपाली कांग्रेसबाट राजनीति सुरु गर्नुभएको थियो । निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय राजनीति गर्दा उहाँ जेल पर्नुभयो । उहाँले आठ वर्षसम्म जेल जीवन बिताउनुभएको थियो । नक्खु जेलमा रहँदा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहसँग उहाँको भेट भयो । जेलमा नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई पनि हुनुहुन्थ्यो तर उहाँ रामराजा प्रसाद सिंहसँग प्रभावित हुनुभएको थियो ।

विसं २०३२ तिर छापामार युद्धबाट देशमा गणतन्त्र स्थापना गर्न रामराजाप्रसाद सिंहको नेतृत्वमा सक्रिय हुनुभयो । त्यसै सन्दर्भमा सिंहको नेतृत्वमा जनवादी मोर्चा गठन भयो । उहाँ मोर्चाको महासचिव बन्नुभएको थियो । गणतन्त्र स्थापनका लागि २०४२ सालमा बमकाण्ड जनवादी मोर्चाकै अगुवाइमा भएको थियो । तत्पश्चात् गणतन्त्र स्थापनार्थ १४ वर्ष निर्वासन र भूमिगत जीवन बिताउनुभयो । पञ्चायती शासकले उहाँलाई आजीवन कारावास र सर्वस्वहरणको सजाय सुनाएको थियो ।

विसं २०४६ को जनआन्दोलनबाट पुनस्र्थापित बहुदलीय व्यवस्थामा उहाँ पुनः नेपाली कांग्रेस प्रवेश गर्नुभयो । २०५६ सालमा नेपाली कांग्रेसका तर्फबाट बर्दियाबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । २०५९ सालमा सामान्य प्रशासनमन्त्री बन्नुभयो । २०७० सालमा उहाँ एकीकृत नेकपा (माओवादी)मा समाहित हुनुभएको थियो ।

मायालुको ७३ वर्षको उमेरमा गएराति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो । उहाँ लामो समयदेखि फोक्सोको क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । भट्टको जन्म विसं २००७ असार १९ गते डडेलधुराको भागेश्वर गाउँपालिका डुमरीमा भएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको थियो ।