नगरकोटमा ‘अर्गानिक’ तरकारी हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक, ७ असोज : काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोटमा प्राङ्गारिक (अर्गानिक) तकारीको हाटबजार सञ्चालनमा ल्याइएको छ । हाजबजार प्रत्येक शुक्रबार र शनिबार लाग्छ । हाटबजारमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर पिजिएस् प्रमाणीकरण किसान समूहद्वारा उत्पादित ‘अर्गानिक’ उन्मुख तरकारी बिक्रीका लागि सञ्चालनमा लाइएको हो । विशेषगरी प्राङ्गारिकरुपमा जैविक मल प्रयोग गरी विषादीरहित उत्पादन गरिएका तरकारीलाई हाटबजारमा राखिएको काभ्रेपलाञ्चोक एकीकृत ग्रामीण सशक्तिकरण कार्यक्रमका संयोजक बद्रिप्रसाद माकाजुले बताउनुभयो ।

सशक्तिकरण कार्यक्रमको व्यवस्थापन तथा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालको सहयोगमा उक्त हाटबजार सञ्चालनमा ल्याइएको हो । हाट बजारमा फर्सिको मुन्टा, बन्दा, काउली, अदुवा, तने बोडी, कर्कलोको गाभा, स्कुस, भटमास, हरियो सिमी, तिते करेला, खुर्सानी, रैथाने कुखुरा, धनियाँ, रैथाने बोडी, निउँरो, जिम्बु, सुकेको सिमी, प्याज, लसुन, गोलभेँडा, काक्रो, राखिने गरिन्छ ।

यस्तै किसानले घरमै उत्पादित घ्यू, मह र विभिन्न जातका नास्पाती, कागतीलगायत फलफूल तथा यिनका बिरुवासमेत बिक्रीका लागि राख्ने गरेका छन् । सशक्तिकरण विगत दुई वर्षदेखि मण्डनदेउपुरका वडा नं १, २, ३ र ४ मा सञ्चालित छ । बीस प्राङ्गारिक किसान समूहमा पाँच सय छ किसान आबद्ध रहेका छन् ।

नगरकोटमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको आवागमन बढी हुने गर्दछ । त्यही आवागमनलाई लक्षित गरेर हाटबजारको सुरुवात गरिएको हो । समूहमा आबद्ध किसानले उत्पादन गरेका मौसमी तथा बेमौसमी तरकारी हाटबजारमा बिक्रीका लागि राखिने परियोजनाका कृषि प्राविधिक जगतबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार अर्गानिक तरकारीको हाटबजार सञ्चालनमा आएपछि स्थानीय होटल तथा पर्यटन व्यवसायी निकै खुसी देखिएका छन् ।

“स्थानीय अर्गानिक तरकारी होटल व्यवसायी तथा पर्यटकलाई खुवाउन पाउँदा निकै खुसी भएका छौँ”, नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव प्रदीप अधिकारीले भन्नुभयो । उहाँले नगरकोटका होटल तथा रिसोर्टमा स्थानीयस्तरकै तरकारी उपलब्ध गराउन हाटबजारले मद्दत पुग्ने बताउनुभयो ।

हाटबजार नगरकोट क्षेत्रको पायक पर्ने चाँगुनारायण नपा–६ स्थित महामञ्जुश्री चोकमा सञ्चालनमा ल्याइएको हो । मण्डनदेउपुर नपा–४ सर्वझाङका किसान रामबहादुर बजगाईंले नगरकोटमा सञ्चालित हाटबजारले किसान र उपभोक्तालाई विचौलियाबाट हुने ठगी नियन्त्रण गराउँदै सुपथ मूल्यमा स्वच्छ र ताजा तरकारी खान पाउने अवस्थाको सिर्जना भएको बताउनुभयो ।

उहाँले स्थानीयस्तरमा उत्पादन भएका प्राङ्गारिक तरकारी आन्तरिक पर्यटकले चिनोस्वरूप अन्य ठाउँमा समेत लैजान सकिने भएकाले हाट बजारमा किसानले बिक्रीका लागि ल्याएको तरकारी घर फिर्ता नलैजाने वातावरण बनाउन स्थानीय व्यवसायीले सहयोग गर्नुपर्ने बताउनुभयो ।

मण्डनदेउपुरका नगरप्रमुख टोकबहादुर वाइबाले नगरकोट क्षेत्रका होटल व्यवसायीले स्थानीयस्तरमा उत्पादित अर्गानिक, स्वास्थ्यलाई फाइदा पुग्ने तरकारी तथा फलफूल किनेर किसानको आयआर्जन वृद्धिमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “नगरकोटमा होटलले बाहिरबाट तरकारी तथा फलफूल ल्याउनुभन्दा स्थानीयस्तरमै उत्पादित प्राङ्गारिक उन्मुख तरकारी आफ्ना पाहुनालाई खुवाउनुपर्छ, सुरुआती चरणमा सबै होटललाई नपुग्ला, अब तरकारी उत्पादन बढाउनेतर्फ लाग्नेछौँ ।” उहाँले नगरकोट क्षेत्रमा शीत भण्डार आवश्यक रहेकाले भक्तपुरको चाँगुनारायण नगरसँग सहकार्य तथा अन्य सङ्घ संस्थासँग समन्वय गरी स्थापना गर्नेतर्फ लाग्ने बताउनुभयो ।

चाँगुनारायण–६ का वडाध्यक्ष धनबहादुर लामा नगरकोटमा अब हरेक हप्ता हाटबजारलाई निरन्तरता दिइने बताउनुहुन्छ । “सबै पक्षसँग हातेमालो गर्दै प्रत्येक शुक्रबार मेलाकै रूपमा व्यवस्थित गर्दै जानेछौँ”, उहाँले भन्नुभयो ।

मण्डनदेउपुर किसान समूहका सचिव गणेश घोरासैनीले प्राङ्गारिक तरकारी खेतीको उचित मूल्याङ्कन नभइरहेको अवस्थामा हाटबजारले किसानलाई हौसला प्रदान गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “स्थानीय किसान विषादीरहित तरकारी उत्पादनतर्फ लागिसकेका छन्, यस्ता बजारले उनीहरुलाई थप उत्प्रेरणा दिनेछ ।”