विभिन्न देशमा नेपाली श्रमिकहरुका पक्षमा काम गर्नका लागि सरकार र एनआरएनएबीच सहकार्य अपरिहार्य – महेश श्रेष्ठ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवम आसन्न ११औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेष्ठले विश्वका विभिन्न देशमा नेपाली श्रमिकहरुका पक्षमा काम गर्नका लागि सरकार र एनआरएनएबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

हालै एक टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा उनले भिन्न देशका भिन्नाभिन्नै समस्या रहेकाले ति समस्याहरुको पहिचान गरी त्यसको समाधानका लागि एनआरएनए र सरकार सहकार्य गर्नुपर्ने औंल्याएका हुन् । नेपाली श्रमिकहरुका लागि भिसा र पासपोर्टको सबैभन्दा ठूलो समस्या रहेकाले त्यसको समाधान गर्न सरकार र एनआरएनएबीच सहकार्य आवश्यक रहेको उनले बताए ।

अध्यक्षका प्रत्यासी श्रेष्ठले भने,‘नेपाली श्रमिकहरुको समस्या समाधान गर्न एनआरएनए परिचालित हुन तयार छ । हरेक देशका हरेक समस्या छन त्यसका लागि सहकार्य गर्न हामी प्रतिबद्ध छौं । भावी दिनमा समस्याहरुको वर्गीकरण गरेर श्रमिकहरुको पक्षमा काम गर्न एनआरएनए तयार छ ।’

‘मेरा प्रतिबद्धताका पाँच बुँदामध्ये एउटा बुँदा मध्यपूर्वी एसिया, मलेसिया, इराक, माल्टालगायतका देशका नेपालीहरुका पक्षमा छ । माल्टामा कन्सुलर सेवा नहुँदा समस्या भएकाले त्यो स्पेनबाट दिलाउनुपर्छ । इराकका नेपालीहरुमा पनि पासपोर्टको समस्या छ । त्यसलाई युएइबाट प्रदान गरिनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसबाहेक अन्य देशमा पासपोर्ट, भिसा, श्रम साथै धेरै कानूनी जटिलताहरु छन् । त्यसका लागि सरकारसँग सहकार्य गर्न एनआरएनए कटिबद्ध छ,’उनले भने ।

विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरुमा जेसुकै समस्या परेपनि एनआरएनए एनसीसीसँग सहकार्य गर्न आग्रह गरे । जेल जीवन बिताइरहेका, मानसिक हिंसा भोगिरहेका, स्वास्थ्य जटिलता भोगिरहेका र कानूनी समस्या झेलिरहेका नेपालीहरु एनआरएनएको सम्पर्कमा आउन पनि उनले आग्रह गरे ।

विदेशी भूमिमा श्रमिकका रुपमा पुगेका नेपालीहरु भौतिक रुपमा सुरक्षित नभएको उल्लेख गर्दै उनले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकको परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पुर्याउने व्यवस्था मिलाउन एनआरएनए मार्फत पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो प्रतिबद्धता पत्रका बारेमा बताउँदै नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसंग समन्वय गरी १० करोडको श्रमिक कल्याण कोष खडा गर्न लागिएको जानकारी पनि दिए ।

गत साता काठमाडौंमा एक भब्य समारोहबीच एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका श्रेष्ठ जापानको भ्रमण सकेर छिट्टै मलेसिया र मध्यपूर्वका देशहरुको भ्रमणमा निस्किएका छन् । श्रेष्ठसँगै महासचिवका प्रत्यासी बुद्धिसागर सुवेदी पनि दौडाहामा छन् ।