राजनीतिक असमझादारी हटाउन भूमिका खेलिरहेको छु : सभामुख घिमिरे

बनियानी (झापा)- सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले राजनीतिक दलबीचको असमझदारी हटाउन आफूले भूमिका खेलिरहेको बताउनुभएको छ । झापाको बिर्तामोडस्थित निजी सचिवालयमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संसद्लाई कुशलतापूर्वक सञ्चालन गर्न आफू सकेसम्म प्रयासरत रहेको बताउनुभयो । “राजनीतिक पार्टी र नेताहरूबीचमा असमझदारी बनेका बेला उहाँहरूलाई एकठाउँमा राख्ने काम सकेसम्म भूमिका खेलेको छु”, उहाँले भन्नुभयो, “यसमा एक खालको सफलता मिलेको छ ।” सरकारले ल्याएका ऐन–विधेयकलाई संसद्मा घनिभूत छलफल गराउने काम आफूले गरिररहेको सभामुख घिमिरेको भनाइ छ ।

सरकारले गम्भीरताका साथ ऐन कानून निर्माण लाग्न नसकेको बताउँदै उहाँले कानुन ल्याए पनि तुरुन्त पछि हट्नुपर्ने अवस्था रहेको चर्चा गर्नुभयो । सभामुख घिमिरेले सरकारले विधेयक ल्याउँदा सरोकारवालाहरूसँग बृहत छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

“संसद्मा विधेयक आउने वित्तिकै त्यसको व्यापाक विरोध भइरहेको अवस्था छ”, उहाँले भन्नुभयो, “विधेयक ल्याउँदा सरोकारवालासँग छलफल गरेर उनीहरूको माग र भावना समेट्न आवश्यक छ ।” झापा क्षेत्र नं २ का संसद्समेत रहनुभएका उहाँले यस क्षेत्रको विकासमा निरन्तर लागिपर्ने बताउनुभयो । यस क्षेत्रका जनतासँग गरेको बाचा पूरा गर्न कुनै कसर बाँकी नराख्ने उहाँको छ ।