काठमाडौं महानगरपालिकाले दशैंलक्षित खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा राजधानीवासीलाई स्वस्थ मासु खुवाउने उद्देश्यले राजधानी भित्रिने खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।कामपाले विगत वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र अनुगमन गर्ने गरेकोमा यो वर्ष घटस्थापनाको केही दिनअघिबाटै अनुमगन सुरू गर्न लागेको हो ।

कामपा कृृषि तथा पशुपन्छी विभागको नेतृत्वमा पशु चिकित्सक, कामपा प्रहरी र वडाको समन्वयमा खसीबोकालगायत चौपाया परीक्षण गर्ने भएको छ । विभाग प्रमुख डा. अवधेश झाले केन्द्र र प्रदेशको समन्वयमा परीक्षण गर्ने जानकारी दिँदै भन्नुभयो– ‘हाम्रो कार्यक्षेत्रभित्र पर्ने बिक्री केन्द्रमा सघन अनुगमन गर्नेछौं । दशैंमा राजधानीवासीलाई स्वस्थ पशु चौपायाको मासु उपलब्ध गराउन बिक्री केन्द्रमै खसीबोकाको अनुगमन गर्न लागेका हौं ।’

उहाँले स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाइने जानकारी दिँदै सिङमा हरियो रङ भएको खसीबोका मात्र खरिद गर्न आग्रह गर्नुभयो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।