मलेसियामा किन हराउँछन् नेपाली ?

दोहा । पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सयौं नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ ।क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ ।

यस्तै, त्यहाँ क्रियाशील संस्था जनउद्धार केन्द्र मलेसियाले एक सूचना जारी गर्दै धरान उपमहानगरपालिका–६ सुनसरीका मनोज खड्का गत २१ सेप्टेम्बरदेखि घरपरिवार र आफन्तसँग सम्पर्कविहीन रहेको भन्दै खोजी कार्यमा सहयोगका लागि अनुरोध गरेको छ ।

केही दिनअघि सेलेंगर राज्यको पुचुङ एरियाको सडकमा रित्तो खुट्टा हिँडिरहेका र भिडियो हेर्दा उनी अलिकति मानसिक पीडामा रहेका जस्तो देखिएकाले उल्लिखित फोटो र भिडियोसँग मेल खाने व्यक्ति कहीँ कतै देखिएमा नियन्त्रणमा लिएर नेपाली दूतावास मलेसिया अथवा जनउद्धार केन्द्रलाई सम्पर्क गर्न भनिएको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

यस्तै, चितवनका जयराम तामाङ पनि करिब १० वर्षअघि मलेसिया पुगेको र त्यहाँ पुगेको दुई वर्षसम्म घरपरिवारको सम्पर्कमा रहेकामा त्यसपछि कुनै पनि सम्पर्कमा नआएको भन्दै खोजी गरिदिन उनको परिवारले अनुरोध गरेको छ ।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायतका कारण नेपालीहरू जेल पर्ने गरेको र त्यस्ता नेपालीहरू परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरिदिन फोन आउने गरेको दूतावासका द्वितीय सचिव प्रेमबहादुर बुढथापाको भनाइ छ ।