विविधतायुक्त देशलाई एकताबद्ध बनाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विविधतायुक्त देशलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । एमाले पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित कार्यक्रममा उहाँले विविधतामा एकता खोजेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै समानतामा आधारित एकता र त्यो एकतामा आधारित राष्ट्रिय एकता अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

“विविधतामा एकता खोज्नुपर्दछ । हामीसँग सांस्कृतिक भाषिक भौगोलिक विविधतालाई द्वन्द्वको विषय बनाउने होइन”, उहाँले भन्नुभयो । हिमाल, पहाड, तराइ, मधेस कुनै पनि क्षेत्रलाई छाड्न नसकिने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, “हामीसँग मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी, रामजानकी मन्दिरहरू छन् । विभिन्न ऐतिहासिक ताल तलैया छन् । यी हाम्रा समृद्धि र गौरवका प्रतीक हुन् ।” एमालेले नेता तथा कार्यकर्तालाई इमान, न्याय, सत्यमा अडेर काम गर्ने सिकाउने उहाँको भनाइ छ ।