सडक मर्मतसम्भार र स्वास्थ्य संस्था निर्माणको कामलाई तीव्रता दिन सांसदको माग

काठमाडौँ, १९ असोज : सांसदहरुले धार्मिक सद्भाव कायम राख्न, सडक मर्मतसम्भार र स्वास्थ्य संस्था निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लामा प्रदेशस्तरीय अस्पताल बनाउनका लागि जग्गा उपलब्ध गराउन सङ्घीय सरकारले निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले बजेट बनियोजन गरेर डिपिआर बनिसेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयको २५ रोपनी जग्गा सङ्घीय सरकारलाई तत्काल उपलब्ध गराउन सिफारिस गर्दा पनि निर्णय भएको छैन ।”

सांसद राजेन्द्रप्रसाद लिङ्देनले बिना आधार धार्मिक सदभावमा खलल पु¥याएको आरोप लगाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सांसद रामशङ्कर यादवले सदनमा पटकपटक सरकारको ध्यानार्कषण गराउँदा पनि कार्यान्वयन नभएको गुनासो गर्नुभयो । “सदनमा पटक–पटक बोलिसक्दा पनि सरकारले चासो व्यक्त गर्दैन । जेठदेखि साउनसम्ममा बलान नदी नियन्त्रण सम्बन्धमा तीन चोटी दोहोर¥याए तर सरकारले सुनेन”, उहाँले भन्नुभभो, “समयमा नसुन्दा धेरै क्षति भइसकेको छ । चालु आर्थिक वर्षमा पनि नियन्त्रण गरिएन भने अन्य बस्ती विस्थापन हुने जोखिममा छ ।”

सांसद रामकुमार राईले पहाडी लोकमार्ग दिक्तेल–भोजपुर खण्डमा दश किलोमिटरको कालोपत्र गर्नुपर्ने बताउनुभयो । सांसद रेखा यादवले वैदेशिक रोजगारीका नाममा महिलाहरुले बेचबिखनमा परेको भन्दै उद्धार, पुनःस्थापन र पुनर्वासको माग गर्नुभयो ।

सांसद रोशन कार्कीले संसदीय समितिले दिएको निर्देशन सरकारले कार्यान्वयन नगर्नु समितिको अपमान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “महिला तथा सामाजिक मामिला समितिले निःशुल्क हेल्पलाइनको व्यवस्था र आरती साहको परिवारमाथि दुव्र्यवहार गर्नेप्रति कारबाहीका लागि सिफारिस गरेको थियो । तर गृहमन्त्रालयले यसको कार्यान्वयन गरेन । के यसरी समितिको अपमान गर्न मिल्छ ?”

शून्य समयमा सांसद लेखनाथ दाहालले कार्यतालिकासहितको बजेट कार्यान्वयन प्रक्रियाको लिखित विवरण अर्थमन्त्रालयसँग माग गर्नुभयो । सांसद महेन्द्रबहादुर शाहीले बाढी पहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानार्कषण गराउनुभयो । उहाँले भेरी बबई डाइभर्सन आयोजनामा स्थानीयलाई जग्गाको मुआब्जा दिन माग गर्नुभयो ।

सांसद राजेन्द्र बजागाईले नेपाली युवा रुसको सेनामा भर्ती हुने विषयमा सरकारको ठोस जवाफको माग गर्नुभयो । सांसद महेशकुमार बर्तौलाले त्रिभुवन विश्वविद्यालयमा नेविसङ्घले प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्तामा अवरोध पु¥याउन तालाबन्दी गरेको भन्दै सरकारको ध्यानार्कषण गराउनुभयो ।

सांसद मञ्जु शर्मा अन्सारीले देशमा धार्मिक सद्भावलाई कायम राख्न आग्रह गर्नुभयो । सांसद रणकुमारी बलमपाकी मगरले काठमाडौँका विभिन्न स्थानका सडक बालबालिकालाई सुरक्षित बास, शिक्षा र संरक्षणका लागि ध्यानाकर्षण गराउनुभयो ।

सांसद रमाकुमारी पौडेलले काठमाडौँको इन्द्रचोकभित्र भारी बोक्ने श्रमिकलाई तीन पाङ्ग्रे सवारी सञ्चालन गर्न अनुमति दिनका लागि काठमाडौँ महानगरपालिकाले वञ्चित गरेको भन्दै निश्चित समय तोकेर भए पनि अनुमति दिनुपर्ने बताउनुभयो ।