सुन तस्करी प्रकरणमा महरालाई उन्मुक्ति

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर गरेको सुन तस्करी प्रकरणमा पूर्व सभामुख महरालाई उन्मुक्ति दिएको छ ।
सरकारी वकिल कार्यालयमा आइतबार सो घटनाको अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीले पूर्व सभामुख महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी किरण बज्राचार्यका अनुसार सीआईबीले पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकाल्दै महराका छोरा राहुल महरा, लोकेन्द्रकुमार पौडेल र तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङसहित ४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएको छ ।

भेप प्रकरणमा प्रतिवादी कायम गर्न सिफारिस गरिएका एक जना फरार छन् । चिनियाँ सुन तस्कर दाओजिन वाङसहित ६ जनालाई पछि खुलेको अवस्थामा प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ ।

प्रतिवेदनमा ८ करोड ५७ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने राय दिइएको छ । सीआईबीले संगठित अपराधको कसुरमा ६० दिनसम्म अनुसन्धान गरेर पठाएको प्रतिवेदनको आधारमा २७ असार २०८० मा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।मुद्दा दर्ता भएपछि यो प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पनि जोडिएको खुलेको थियो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।