जाजरकोट भूकम्पमा झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिए

काठमाडौं । गत कार्तिक १७ गतेको भूकम्पले झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिएपछि पश्चिम रूकुम र जाजरकोटका १३ स्थानीय तहका विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरू पुस्तकविहीन हुन पुगेका छन् । विद्यालय भत्किएर त्रिपालमुनि पढाउन बाध्य ती विद्यालयहरूलाई १४ हजार ६ सय ५ सेट पाठ्यपुस्तक आवश्यक पर्नेभएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको तथ्याङ्कअनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई उक्त संख्यामा पाठ्यपुस्तक आवश्यक देखिएको हो । ती पुस्तक कार्तिक १७ गते गएको भूकम्पले पुरिएका हुन् ।

केन्द्रले उपलब्ध गराएको तथ्याङ्कअनुसार रूकुम पश्चिमको ६ र जाजरकोटको ७ स्थानीय तहमा पाठ्यपुस्तक पुग्न सकेको छैन । रूकुम पश्चिमको आठबिसकोट, सानीभेरी, त्रिवेणी, चौरजहारी र बाफीकोटको स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको हो । त्यसै गरी जाजरकोटको जुनिचाँदे, कुशे, नलगाड, छेडागाड, शिवालय, भेरी र बारेकोट स्थानीय तहमा पुस्तक पुग्न सकेको छैन ।

तथ्याङ्कअनुसार ती स्थानीय तहमा कक्षा १ को १ हजार ९ सय १३, कक्षा २ मा १ हजार ७ सय ४९, कक्षा ३ मा १ हजार ७ सय ११, कक्षा ४ मा १ हजार ५ सय ४७, कक्षा ५ मा १ हजार ५ सय ६१, कक्षा ६ मा १ हजार ३ सय २९, कक्षा ७ मा १ हजार २ सय ८३, कक्षा ८ मा १ हजार १ सय ८७, कक्षा ९ मा १ हजार ४ सय २१ र कक्षा १० कक्षामा ९ सय ४ सेट पाठ्यपुस्तकको आवश्यक्ता छ ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डा। भोजराज काफ्लेले आवश्यकपर्ने पुस्तक खरिद गर्न रकम अभाव भएका कारण विद्यार्थीको हातमा पाठ्यपुस्तक पुस्तक पुग्न नसकेको बताए । सानो कक्षामा बढी पुस्तक आवश्यक पर्ने देखिएको जानकारी दिँदै उनले विद्यालयका प्रधान अध्यापकहरूले स्थानीय तहमा पुगेर रकम निकासा माग गरी पाठ्यपुस्तक खरिद गरे समस्या नहुने बताए ।यो समाचार नेपाल समाचारपत्रसँग दैनिकमा छ ।

उनले भने, ‘सबै स्टेसनरीमा पाठ्यपुस्तक छ, विद्यार्थीसँग पैसा छैन । प्रधान अध्यापकहरूले पहल नगेसम्म पुस्तक पाउन कठिन हुनेछ ।’