चाडबाड नजिकिएसँगै जुम्लामाबजार अनुगमन तीव्र

जुम्लामा चाडबाड नजिकिएसँगै बजार हुने कालोबजारीलाई रोक्नका लागि अनुगमनलाई तीव्र बनाइएको छ । बडादसैँ र तिहारलाई ध्यानमा राखेर उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले बजार अनुगमनलाई तीव्र बनाएको छ ।

सदरमुकाम खलङ्गा बजारका खाद्यान्न पसलमा अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका बजार अनुगमन प्रमुख भगवती श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय, चन्दननाथ नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, उद्योग वाणिज्य सङ्घ , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र आन्तरिक राजस्व कार्यालयले संयुक्तरुपमा बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्र डिभिजन कार्यालय जुम्लाका प्रमुख डा ईश्वर सुवेदीले बताउनुभयो ।

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका अखाद्य वस्तु नष्ट गरिएको छ । रु ३२ हजार दुई सय ८० मूल्य बराबरको खाद्य सामग्री पनि बरामद गरी नष्ट गरिएको छ । पछिल्लो दुई दिनमा जुम्ला बजारका ६८ पसल अनुगमन गरिएको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले जनाएको छ ।

चन्दननाथ नगरपालिकाको खलङ्गा बजारका विभिन्न स्थानको अनुगमनका क्रममा म्याद गुज्रिएका, कर छली गरेर बिक्री गरिएका वस्तु, जङ्कफुड, सूर्तीजन्य प्रदार्थ खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको आन्तरिक राजस्व कार्यालय जुम्लाका कर अधिकृत धनसिंह थापाको भनाइ छ । चाडपर्वको समयमा म्याद गुज्रेको सामान बजारमा आउन सक्ने, मूल्यवृद्धि हुनसक्ने भएकाले संयुक्त बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।