‘प्रधानमन्त्री उद्धारमा खटिएपछि पीडित र सरकारी निकायले अभिभावकत्व महसुस गरे’

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रत्यक्षरूपमा भूकम्पपीडितको राहत र उद्धारका लागि प्रभावित क्षेत्रमा पुगेपछि राज्यका सबै निकायले अभिभावकत्व महसुस गरेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रतिक्रिया छ ।

आफ्नो गृहजिल्ला जाजरकोट नै भूकम्पको ठूलो चपेटामा परेपछि दिनभर उद्धार र उपचारमा खटेर काठमाडौँ आइपुगेपछि राष्ट्रिय समाचार समिति (रासस)सँग कुराकानी गर्नुहुँदै मन्त्री बस्नेतले भन्नुभयो, “मुलुकको प्रधानमन्त्री नै प्रत्यक्षरूपमा प्रभावित क्षेत्रमा पुग्नुभएपछि सरकारी निकाय, सुरक्षा संयन्त्र तथा स्थानीय स्वयंसेवकलाई बल मिल्यो । सोही कारण उद्धारको काम छोटो समयमा पूरा भयो भने उपचारको पनि सहज प्रबन्ध हुनसक्यो ।”

विपद्को समयको पहिलो दायित्व उद्धार र उपचार हो । सरकारले सो कामलाई आज दिनभरमा पूरा गरेको छ । त्यसका लागि सरकारले शुक्रबार रातिदेखि नै आवश्यक तयारी गरेको थियो । सिंहदरबार र बालुवाटारमा बसेर निर्देशन दिएकै भरमा भूकम्पपीडितको उद्धार हुँदैन भन्ने ठानेर प्रधानमन्त्रीको नेतृत्वमा आफूहरू प्रभावित क्षेत्रमा पुगेको मन्त्री बस्नेतको भनाइ छ ।

स्थानीय प्रशासनले, भूकम्पपीडित सबैले सरकार आफ्नै घरगाउँमा आएको र आफ्नो पीडामा साथै रहेको अनुभव गर्न पाएको उहाँको भनाइ छ । केहीले प्रधानमन्त्री प्रचण्ड नगएको भए पनि हुन्थ्यो भनेर गरेको टिप्पणीलाई उहाँले नकारात्मक सोचको उपज भएको तर्क गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “विपद्को समयमा राज्यका निकायलाई पूर्ण क्षमतामा परिचालन गर्नु प्रमुख दायित्व हुन्थ्यो । हामीले त्यही गर्याँै । सरकार प्रमुख नै प्रभावित क्षेत्रमा पुग्दा सबै निकायको मनोबल उच्च हुन पुग्यो । सोही कारण आजै उद्धार र उपचारको प्रबन्ध गर्न सक्यौँ ।”

मन्त्री बस्नेतले विपद्को पहिलो काम पूरा भएकाले आइतबारदेखि राहतको काम सुरु हुने जानकारी दिनुभयो । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । सोही बैठकले राहतको उपयुक्त निर्णय गर्नेछ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पका कारण जाजरकोटका अधिकांश घरमा क्षति पुगेको छ । भेरी नगरपालिका, नलगाड, बारेकोट नगरपालिकामा धेरै क्षति भएको छ । ती स्थानीय निकायका धेरैजसो घरमा क्षति पुगेको छ । सग्ला रहेका घरमा समेत बसोबास गर्न नहुने भएका छन् । भूकम्पका कारण भेरी नगरपालिकामा मात्र ४२ जनाको निधन भएको छ । यस्तै ८१ जना घाइते भएका छन् । नलगाड नगरपालिकामा ५५ जनाको मुत्य भएको छ । कुशे गाउँपालिकामा सात, छेडागाड नगरपालिकामा एक जना गरी कुल एक सय पाँच जनाको निधन भएको छ ।

यस्तै रुकुम पश्चिमको आठबिसकोट नगररपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिका बढी प्रभावित भएको छ । ती स्थानीय तहका अधिकांश घर तथा आवासमा क्षति पुगेको छ । सग्ला रहेका घर पनि सानो धक्काले ढल्ने अवस्थामा रहेकाले जोखिम छ ।

जाजरकोट सदरमुकाम रहेको खलङ्गाका अधिकांश घरमा क्षति पुगेको पाइएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । पुराना घर भएकाले पनि धेरै घर भत्किएको हुनसक्ने अधिकांशको अनुमान छ ।

मन्त्री बस्नेतले भूकम्प लगत्तै आफूले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फोन गरेर उद्धारमा जुट्न र उपचारको प्रबन्ध गर्न निर्देशन दिएकोसमेत स्मरण गर्नुभयो । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधि भूकम्प गएलगत्तै परिचालित भएका थिए । प्रधानमन्त्रीको नेतृत्वमा मन्त्री बस्नेत, पूर्वअर्थमन्त्री जनार्दन शर्मा, चिकित्सकसहितको टोली खलङ्गा पुगेपछि त्यसले थप बल दिएको मन्त्री बस्नेतको भनाइ छ । प्रधानमन्त्रीको टोलीले जाजरकोट अस्पतालमा पुगेर घाइतेलाई नआत्तिन र सरकार साथमा रहेको बताउँदा अधिकांशले सरकार आफ्नै साथमा भएको अनुभूति गरेका थिए ।

प्रधानमन्त्री नै प्रभावित क्षेत्रमा पुगेपछि राज्यका अधिकांश निकाय समयमै पुगेर उद्धारको काम गरेका छन् । स्वास्थ्यकर्मी पनि पुगेका छन् । मध्यरात गएको भूकम्पका कारण हजारौँ घरमा क्षति पुगेको छ ।

विशेषगरी जाजरकोट र रुकुम पश्चिममा सरकारको तर्फबाट पहिलो चरणको काम सम्पन्न गरेको छ । प्रधानमन्त्री प्रचण्डले पनि नेपालगन्ज विमानस्थलमा त्यसकोे जानकारी दिनुभएको थियो । सरकारकोे तर्फबाट आज जे गर्नुपर्ने थियो त्यो भएको र आइतबार मन्त्रिपरिषद्को बैठकले राहतको बारेमा आवश्यक निर्णय गर्ने उहाँको भनाइ थियो ।

मध्यरातमा सपना जसरी आएको भूकम्पले दिएको पीडामा रहेका नागरिकलाई आज सरकारले विश्वास दिलाएर फर्केको जानकारी दिँदै मन्त्री बस्नेतले राहत र पुनःनिर्माणको काम पनि सोही गतिमा गर्ने बताउनुभयो । उहाँले सहज सञ्चारका लागि बिजुलीको सहज उपलब्धताका लागि आज बिहानै नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको र सोहीअनुसार काम भएकोसमेत उल्लेख गर्नुभयो ।