पोखरा महानगरबाट राहत सामग्री सहित १७ जनाको उद्धार टोली भूकम्प प्रभावित क्षेत्रमा

कास्की- भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्रीसहित उद्धार टोली पठाएको छ ।महानगरले वडाध्यक्षद्धय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरीसहितको टोली राहत तथा उद्धारका सामग्रीसहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको जनाएको छ ।

शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

महानगर प्रमुख धनराज आचार्यले दुईवटा सानो गाडी र एक ट्रकमा राहत सामग्री सहित १७ जनाको उद्धार टोली प्रभावित क्षेत्र रुकुम र जाजरकोट प्रस्थान गरेको जानकारी दिनुभयो । महानगरको टोली आवश्यकतानुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ ।

टोलीले राहत सामग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्ल्याङ्केट र औषधि एवं उपचारका आवश्यक सामग्री गएको प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भूकम्पका कारण सिर्जित हृदयविदारक घटनामा राहत तथा उद्धारमा सहभागी हुनु हाम्रो पनि कर्तव्य हो । प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुनःनिर्माणलगायत कार्यमा पोखरा महानगरले सहयोग गर्नेछ ।”

महानगरले भूकम्प प्रभावित क्षेत्रमा रु ५० लाखको सहयोगको घोषणासमेत गरेको छ । महानगर प्रमुख आचार्यले पहिलो चरणमा महानगरका जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकबापत रु १३ लाख १५ हजार राहत प्रदान गरिने जानकारी दिनुभयो । राहतका लागि नपुग रकम महानगरपालिकाको विपद् कोषबाट खर्च व्यहोरिने र रु ५० लाख बराबरको राहत सहयोग प्रदान गरिने महानगरले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेश सरकारले पनि प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि चिकित्सक टोली पठाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले चिकित्सकसहितको टोली त्यसतर्फ पठाइएको जानकारी दिनुभयो ।

सरकारले प्रदेश सरकारमातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचनको नेतृत्वमा मेडिकल, हाडजोर्नी र एनेस्थिेसियाको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी र उपचार सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा पठाएको हो । स्थलमार्ग हुँदै जाने टोली आइतबार बिहान रुकुम पुग्ने र भूकम्पबाट घाइते भएकाको उपचारमा खटिने बताइन्छ ।